लोड हुँदैछ...

मेनु

पञ्चमुखी युवा समाजद्वारा ४१० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पञ्चमुखी युवा समाजद्वारा ४१० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विराटनगर । विराटनगर–१२ स्थित पञ्चमुखी युवा समाजले तिहारमा देउसीभैलोबाट संकलित रकमले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ।

समाजले विराटनगर–१२ मा अवस्थित दुईवटा विद्यालयका ४१० जना विद्यार्थीलाई कापी, डटपेन र पेन्सिल वितरण गरेको हो। सहिद दिवसको अवसर पारेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको समाजका अध्यक्ष लाक्पा लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार मलङ्गवास्थित जनता बालकल्याण आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो। सामग्री ग्रहण गर्दै विद्यालयकी प्रधानाध्यापक इमा ओझाले समाजको यस कार्यप्रति धन्यवाद व्यक्त गरिन्।

त्यस्तै, दरैयास्थित जनता आधारभूत विद्यालयका ३०० जना विद्यार्थीलाई पनि स्टेशनरी सामग्री वितरण गरिएको छ। विद्यालयका प्रधानाध्यापक ओम ढकालको उपस्थितिमा अध्यक्ष लामा, सचिव गौतम कामत र कोषाध्यक्ष रमिला कोइरालाले उक्त सामग्री हस्तान्तरण गरेका थिए।

देउसीभैलोबाट संकलित रकम वनभोज लगायतका खर्चिलो कार्यक्रममा खर्च गर्नुभन्दा विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको लामाले बताए। दुवै विद्यालयमा सीमान्तकृत र विपन्न समुदायका बालबालिका अध्ययनरत छन्। करिब १८ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको समाजले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।