लोड हुँदैछ...

मेनु

सुपरमाई हाइड्रोविरुद्ध इलामका स्थानीय आन्दोलित

सुपरमाई हाइड्रोविरुद्ध इलामका स्थानीय आन्दोलित

इलाम । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावर कम्पनीले जग्गा खरिदका क्रममा स्थानीय बासिन्दामाथि अन्याय गरेको आरोप लगाउँदै प्रभावित क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

हाइड्रो निर्माण अघि विभिन्न प्रलोभन देखाएर न्यून मूल्यमा जग्गा खरिद गरिएको र पछि कानुनी प्रक्रियामा अत्यधिक मूल्य देखाई आफूहरूलाई झुक्याइएको दाबी स्थानीयको छ।

आन्दोलित स्थानीयले हाइड्रो परिसरमा कालो झण्डा राख्दै मूल गेटमा तालाबन्दी गरेका छन्। उनीहरूका अनुसार सुरुमा प्रतिरोपनी ८५ हजारदेखि एक लाख रुपैयाँसम्ममा जग्गा खरिद गरिएको थियो। तर, मालपोत कार्यालयमा पास गर्दा भने सात लाखदेखि १० लाख रुपैयाँसम्म मूल्य देखाइएको पाइएको छ।

स्थानीयलाई वास्तविक अवस्था नबताई जबर्जस्ती हस्ताक्षर गराइएको आरोपसमेत छ। स्थानीय टंककुमार आचार्यले एक ठाउँको जग्गा देखाएर अर्कै स्थानको जग्गा पास गराइएको बताए। “सात वर्षअघि नै हामी ठगिएको रहेछौं । तर, भर्खरै मात्रै मालपोत पुगेपछि थाहा भयो,” उनले भने।

स्थानीयका अनुसार अंशबन्डा तथा नामसारीका लागि मालपोत कार्यालय जाँदा मात्रै वास्तविक मूल्यांकन थाहा पाइएको हो। पीडित पुनम भट्टराईले खोल्सा, भिरालो र पाखो जमिनको मूल्यसमेत प्रतिरोपनी १० लाख रुपैयाँ कायम गरिएकाले अहिले अंशबन्डा गर्नै नसक्ने अवस्था आएको बताइन्। “पाखो जमिनको नामसारी गर्दा मात्रै कर ८० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ,” उनको भनाइ छ। अत्यधिक कर तिर्न नसक्दा अन्य स्थानको जग्गा पास गर्नुपर्ने बाध्यता सिर्जना भएको पीडितहरूको गुनासो छ।

आक्रोशित स्थानीयले कम्पनीले खरिद गरेको सबै जग्गा पुनः खरिद गर्नुपर्ने वा सस्तो मूल्यमा लिएर कानुनी रूपमा बढाइएको मूल्यका कारण लाग्ने कर खारेज गराउनुपर्ने माग अघि सारेका छन्। यी दुवै माग पूरा नभए कम्पनीले खरिद गरेको जग्गा फिर्ता लिनुपर्ने उनीहरूको अडान छ।

स्थानीयका अनुसार सुरुमा मौखिक सहमतिमा न्यून मूल्य तय गरिए पनि पछि कानुनी प्रक्रियामा मूल्य बढाएर सहिछाप गराइएको हो। जग्गाको मूल्य सच्याइ कानुनी र आर्थिक राहत दिनुपर्ने माग उनीहरूले गरेका छन्। पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन सुरु गरिएको जनाउँदै सात दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्। हाल हाइड्रोभित्र र बाहिर कालो झण्डा राखिएको छ भने मूल गेटमा तालाबन्दी कायमै छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।