विर्तामोड । नेपाल–भारत सीमा क्षेत्रको काँकडभिट्टा–पानीटंकी नाकास्थित पुरानो मेची पुलबाट करिब १० किलो चाँदीसहित एक महिला पक्राउ परेकी छन् ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले चाँदीसहित नेपाली महिलालाई पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो करिब १२ः४५ बजे पुरानो मेची पुल क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेकी महिलालाई रोकेर खानतलासी गर्दा उनको झोलाभित्र लुकाइछिपाइ राखिएको दानादार स्वरूपको चाँदी फेला परेको भारतीय पक्षको भनाइ छ । एसएसबीको पानीटंकीस्थित ‘सी’ कम्पनीले सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा महिला पक्राउ परेकी हुन् ।
पक्राउ पर्नेमा झापा घर भएकी ४२ वर्षीया देवीकला खड्का रहेकी छन्। प्रारम्भिक सोधपुछका क्रममा उनले भारतको बागडोग्राबाट एक अपरिचित भारतीय नागरिकले नेपालसम्म पुर्याइदिन भन्दै चाँदी दिएको बताएकी छन् । चार हजार रुपैयाँ पाउने प्रलोभनमा चाँदी बोकेर आएको उनको दावी छ ।
भारतीय सुरक्षास्रोतका अनुसार उनले यसअघि पनि यस्तै प्रकृतिको अवैध ओसारपसारमा संलग्न रहेको स्वीकार गरेकी छन्। प्रारम्भिक अनुसन्धानबाट बरामद चाँदी भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन खोजिएको खुलेको छ।
पक्राउ परेकी महिला र बरामद चाँदीलाई थप कानुनी कारबाहीका लागि भारतीय राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) सिलिगुडी–दार्जिलिङमा बुझाइएको जनाइएको छ। अबैध गतिविधि नियन्त्रण गर्न सीमा निगरानी थप कडा बनाइएको पनि एसएसबीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।