विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजको आयोजनामा सम्पन्न दोस्रो संस्करणको ‘एचडीसी अन्तरकलेज सेफ प्रतियोगिता’ को उपाधि सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले जितेको छ। १० वटा विद्यालयलाई पछि पार्दै सुकुनाले पहिलो स्थान हासिल गरेको हो।
विजेता विद्यालयका तर्फबाट अनिशा रिजाल, आयुष अधिकारी, शिशिर प्रधान र अंकिता पुरीको समूहले उत्कृष्ट परिकार तयार पारेका थिए। प्रतियोगितामा सुन्दरहरैँचाकै सिद्धार्थ माध्यमिक विद्यालय ुफर्स्ट रनरअपु हुन सफल भयो। सिद्धार्थको टोलीमा एलेक्स श्रेष्ठ, रुस्तम कार्की, स्नेहा सिवा र डन्जु शेर्पा रहेका थिए।
यस्तै, विराटनगरको सेन्ट जोसेफ स्कुल सेकेन्ड रनरअप बन्यो। सो टोलीमा मनिषा कार्की, पजोजा तिमसिना, अमृता घिमिरे र रियाशा घिमिरे सहभागी थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। विराट फ्युचर स्कुलकी इतुसा लिम्बू प्रतियोगिताको उत्कृष्ट प्रदर्शनकर्ता घोषित भइन्।
प्रतियोगिताको निर्णायक मण्डलमा नाथम काठमाडौँका एचओडी विपीन नेपाल र होटल क्राउन इम्पेरियल काठमाडौँका सेफ सन्तोष सुवेदी रहेका थिए।
कलेजका प्रमुख भरत सापकोटाका अनुसार मोरङका ११ वटा कलेजका ४४ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रत्येक कलेजबाट चार–चार जनाको समूहले प्रतिस्पर्धा गरेका थिए। ‘हस्पिटालिटी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न र उनीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको हो, ’ प्रिन्सिपल सापकोटाले भने, ‘आज विद्यार्थीहरूले देखाएको कौशल र सिर्जनशीलता अत्यन्तै प्रभावशाली रह्यो।’
निर्णायक सेफ विपीन नेपालले स्वाद, प्रस्तुति, सिर्जनशीलता र समयको प्रभावकारी व्यवस्थापनलाई मूल्याङ्कनको मुख्य आधार बनाइएको जानकारी दिए। विद्यार्थीहरूले स्थानीय सामग्रीको प्रयोग गरी अद्वितीय परिकारहरू तयार पारेका थिए।
कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका आईटी विभाग प्रमुख सुमित साहले गत वर्षदेखि सुरु गरिएको सेफ कम्पिटिसनलाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिता गरिएको बताए। उनले विजेताहरूलाई ट्रफी र नगद पुरस्कारका साथै सञ्चारमाध्यममार्फत उनीहरूको प्रतिभाको प्रचार–प्रसारमा पनि सहयोग गरिने जानकारी दिए। होटल म्यानेजमेन्ट अध्ययन हुने विभिन्न कलेजका विद्यार्थीहरूका लागि यो प्रतियोगिता एउटा महत्त्वपूर्ण मञ्च बनेको साहको भनाइ थियो।
कार्यक्रममा बिजेता हुने विद्यार्थीहरुलाई हिमालय दर्शन कलेजका अध्यक्ष ज्ञानबहादुर खड्का, निर्देशहरु भेषराज पोखरेल, शैलेन्द्र सिवाकोटीलगायतले पुरस्कार वितरण गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।