विराटनगर । प्याब्सनका प्रमुख सल्लाहकार तथा एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले नेपालको शिक्षा प्रणालीलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलको ३२ औं अभिभावक दिवसको अवसरमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
पुरीले अबको शिक्षा व्यवहारिक र सीपमूलक हुनुपर्ने बताए । उनले भने, “यूकेमा दिइने शिक्षा र नेपालमा दिइने शिक्षामा अब फरक हुनु हुँदैन । नेपाल सरकार र स्थानीय सरकारले यस कुरालाई बुझेर सोही अनुसारको पाठ्यक्रम विकास गर्नुपर्छ ।” उनले विद्यार्थीलाई सफल नागरिक बनाउनका लागि शिक्षालाई सीप, विज्ञान र प्रविधिसँग जोड्नु अनिवार्य रहेको बताए ।
शिक्षा क्षेत्रमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै पुरीले थपे, “यदि हामीले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सकेनौं भने त्यो ‘डेट एक्सपायर’ (म्याद नाघेको) शिक्षा हुनेछ । त्यसैले हामीले अब ‘पढ्दै र कमाउँदै’ को अवधारणालाई नेपालमा पनि लागू गर्नुपर्छ ।” उनले अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशहरूमा यो मोडेल सफल भएको उदाहरण दिँदै नेपालका कलेजहरूमा पनि उद्यमशीलता लाई प्राथमिकता दिनुपर्ने बताए ।
एभरेष्ट स्कुलले आगामी दिनमा व्यवहार, सीप र आवश्यकतालाई विज्ञान र प्रविधिसँग जोडेर अगाडि बढ्ने कार्ययोजना बनाउने उनले उद्घोष गरे ।
विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था एभरेष्ट स्कुलमा हाल करिब २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । शुक्रबारबाट सुरु भएको ३२ औं अभिभावक दिवस शनिबार समापन हुने प्रिन्सिपल पुरीले जानकारी दिए । आज पहिलो दिन नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुले नृत्य, गायन प्रस्तुत गरी सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।