लोड हुँदैछ...

मेनु

सुनको मूल्य एकैदिन २० हजारले बढ्यो, एकपछि अर्को रेकर्ड

सुनको मूल्य एकैदिन २० हजारले बढ्यो, एकपछि अर्को रेकर्ड

विराटनगर । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको रेकर्डभन्दा प्रतितोला २० हजार ५ सय रुपैयाँले महँगो हो । यसअघि बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

गएको एक सातामै सुनको भाउ तोलामा ५७ हजार ५ सय रुपैयाँ बढेको छ। सुनको भाउ गएको मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको थियो। सोमबार तोलामा ५ हजार २ सय बढेको सुनको भाउ आइतबार तोलामा २ हजार ४ सय र गएको शुक्रबार तोलामा ९ हजार २ सय रुपैयाँ बढेको थियो। गत साताको बुधबार एकैदिनमा १० हजार ४ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो।

चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। बुधबार प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ५ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।