लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलन उक्साएको आरोपप्रति सुनसरीका निजी विद्यालय सञ्चालकको आपत्ती

जेनजी आन्दोलन उक्साएको आरोपप्रति सुनसरीका निजी विद्यालय सञ्चालकको आपत्ती

इटहरी । सुनसरीका निजी विद्यालय सञ्चालकहरूले जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई आन्दोलनमा पठाएर तोडफोड तथा आगजनी गर्न उक्साएको भन्ने इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको आरोपको खण्डन गरेका छन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले निजी विद्यालय सञ्चालकहरूले नगरप्रमुख पौडेलका अभिव्यक्तिहरू कपोकल्पित, आधारहीन र पूर्वाग्रही भएको दाबी गरेका छन्। उनीहरूले सार्वजनिक रूपमा लगाइएका आरोपको प्रमाण प्रस्तुत गर्न नगरप्रमुखलाई खुला चुनौती समेत दिएका छन्।

नगरप्रमुख पौडेलले भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनका क्रममा इटहरीमा मात्र तोडफोड र आगजनी भएको दाबी गर्दै त्यसका लागि निजी विद्यालय सञ्चालकहरूले स्कुल बसमार्फत विद्यार्थी ओसारेर आगजनी गर्न उक्साएको आशयका अभिव्यक्ति दिँदै आएका छन्। तर, निजी विद्यालय सञ्चालकहरूले आन्दोलन देशव्यापी भएको र इटहरीलाई मात्र केन्द्रमा राखेर निजी विद्यालयमाथि दोष थोपर्नु अन्यायपूर्ण भएको बताएका छन्।

हिसान सुनसरीका अध्यक्ष तथा केन्द्रीय सदस्य सागर भट्टराईले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिसमेत विद्यालयको पोसाकमै रहेको विद्यार्थी भएको तथ्य नगरप्रमुखले बिर्सिएको आरोप लगाए। उनले निजी विद्यालयले आफ्ना विद्यार्थीलाई कुनैपनि अवाञ्छित गतिविधिमा संलग्न गराएको प्रमाण भए सार्वजनिक गर्न माग गरे।

हिसानका केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरेले नगरप्रमुख पौडेलले पकपोकल्पित आरोप लगाएर निजी विद्यालय सञ्चालकहरूलाई जबर्जस्ती दोषी करार गर्न खोजेको टिप्पणी गरे। सार्वजनिक कार्यक्रममा यस्ता अभिव्यक्ति दोहोरिनु दुःखद भएको भन्दै उनले प्रमाणसहित कुरा गर्न चुनौती दिए।

हिसानका केन्द्रीय सचिव बलराम पन्तले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको आन्दोलनप्रति सहानुभूति भएपनि तोडफोड र आगजनीमा आफ्ना विद्यार्थीलाई सहभागी नगराइएको दावी गरेका छन् । विद्यालयको नाम जोडेर गरिएको निराधार आरोपले शैक्षिक क्षेत्रलाई बदनाम गर्ने काम भएको उनको भनाइ छ।

नगरप्रमुख पौडेलका अभिव्यक्ति निरन्तर दोहोरिन थालेपछि पहिलो पटक संगठित रूपमा हिसान सुनसरीले त्यसको खण्डन गर्दै जिम्मेवार अभिव्यक्ति दिन र निराधार आरोप तत्काल बन्द गर्न आग्रह गरेको हो । बिहीबार इटहरीमा पत्रकारसँगको अन्तरक्रियामा विद्यालय सञ्चालकहरु नगर प्रमुख पौडेलप्रति आक्रामक सुनिएका थिए ।

यसैबीच, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव ‘हिसान स्पोर्ट्स मिट’ बिहीबारदेखि सुरु हुने भएको छ । इटहरीमा आयोजित पत्रकार सम्मेलनमा संघले १२औँ संस्करणको स्पोर्ट्स मिट माघ १५ देखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

दुई सातासम्म चल्ने स्पोर्ट्स मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्टहरूमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले बताए। विगत तीन वर्षदेखि आयोजना हुँदै आएको ‘हिसान इटहरी रन’ यस पटक व्यवस्थापनका कारण स्थगित गरिएको कार्यक्रम संयोजक सुभाष लुइँटेलले जानकारी दिए।

स्पोर्ट्स मिट अन्तर्गत फुटबल इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदान र इटहरी रङ्गशालामा, क्रिकेट इटहरी–९ स्थित जनता क्रिकेट मैदानमा, भलिबल पूर्वाञ्चल माध्यमिक विद्यालय तरहरामा, बास्केटबल लर्डबुद्ध स्कुल रामधुनीमा तथा एथलेटिक्सका इभेन्टहरू इटहरी रङ्गशालामा सञ्चालन गरिने जनाइएको छ।

सुनसरी जिल्लाभरिका दुई हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने यस खेल उत्सवलाई १० हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।