लोड हुँदैछ...

मेनु

सङ्घीय कानुन नबन्दा प्रदेशलाई काम गर्न कठिन भयो : मन्त्री पराजुली

सङ्घीय कानुन नबन्दा प्रदेशलाई काम गर्न कठिन भयो : मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले सङ्घीय सरकारले आवश्यक कानुनहरू समयमै नबनाइदिँदा प्रदेश सरकारलाई काम गर्न कठिनाइ भइरहेको बताएका छन् ।

नेपाल औषधी व्यवसायी संघ मोरङको आज कटहरीमा आयोजित दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सङ्घीयता कार्यान्वयनको मुख्य कडीका रूपमा रहेका ऐन कानुनहरूको अभावले प्रदेश सरकारको हात बाँधिएको उल्लेख गरे ।

‘सङ्घीय सरकारले स्वास्थ्य ऐन लगायतका महत्वपूर्ण कानुनहरू समयमै बनाइदिएको भए प्रदेशले पनि आफ्नै ऐन बनाएर औषधी व्यवस्था विभाग जस्ता निकायलाई आफ्नो मातहतमा व्यवस्थित गर्न सक्ने थियो,’ मन्त्री पराजुलीले भने, ‘सङ्घीय कानुन नबन्दा प्रदेश सरकार निकम्मा जस्तो देखिन पुगेको छ, यसमा सङ्घीय नेतृत्वले ध्यान दिनु जरुरी छ ।’

मन्त्री पराजुलीले आफू कार्यकारी भूमिकामा काम गरिसकेको हुनाले नागरिक र व्यवसायीका समस्यालाई नजिकबाट बुझेको बताए । उनले भने, ‘म मन्त्रीका रूपमा नयाँ भए पनि प्रशासनिक र राजनीतिक अनुभवका आधारमा सबै पेशा र व्यवसायका समस्या समाधानमा कटिबद्ध छु । प्रदेशलाई बलियो बनाएर मात्रै सुशासन दिन सकिन्छ ।’

एनसीडि मोरङका अध्यक्ष देशबन्धु ढकाललको अध्यक्षमा साधारण सभा मोरङको कटहरी गाउँपालिका–२ स्थित गोपाल फन पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाभरका औषधी व्यवसायीहरूको ठूलो उपस्थिति रहेको थियो । कार्यक्रममा एनसीडिका केन्द्रीय सदस्य प्रदिप दास, कोशी अध्यक्ष धनराज काफ्ले, निर्वतमान अध्यक्ष कुमार खतिवडालालयले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।