लोड हुँदैछ...

मेनु

नेप्से सामान्य अंकले बढ्दा कारोबार भने घट्यो

नेप्से सामान्य अंकले बढ्दा कारोबार भने घट्यो

विराटनगर । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार उच्च अंकले घटेको नेप्से यस दिन भने सीमित सुधारसहित उकालो लागेको हो।

यस दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले घट्दा फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंकले बढेको छ ।

परिसूचक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३३४ स्टकको १ लाख २१ हजार ९९२ पटकको कारोबारमार्फत ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। अर्कोतर्फ, १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक ८.०७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयरमा ८३ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ।

बजारका १३ उपसमूहमध्ये बुधबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको हो। बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।