लोड हुँदैछ...

मेनु

सुनसान छ घुन्सा बस्ती, मत हाल्न फर्केलान् त स्थानीय ?

सुनसान छ घुन्सा बस्ती, मत हाल्न फर्केलान् त स्थानीय ?

ताप्लेजुङ । चिसो बढेपछि स्थानीय बासिन्दा सबैले गाउँ छाडेपछि ताप्लेजुङको हिमाली बस्ती घुन्सा अहिले सुनसान छ ।

समुद्री सतहबाट करिब ३१ सय मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–७ स्थित घुन्सामा अहिले स्थानीय छैनन् । चिसो बढेपछि उनीहरु धरान, काठमाडौंदेखि भारतको दार्जिलिङसम्म पुगेका छन् ।

करिब ३१ सय मिटर उचाइमै रहेको अर्को बस्ती ओलाङचुङगोलाका करिब आधा बासिन्दा भने गाउँमै छन्। त्यहाँका बासिन्दा जाडोयाममा काम कम हुने भएकाले आफन्त भेटघाट र अन्य कामका लागि फुङलिङ र काठमाडौं जाने गरे पनि बस्ती नै रित्याएर बाहिर बस्ने चलन छैन। उनीहरू प्रायः फागुन सुरु भएपछि गाउँ फर्किन्छन्।

जिल्लाकै सबैभन्दा उच्च भू–भाग ४२ सय मिटर उचाइमा रहेको याङ्माका बासिन्दा भने यो वर्ष पनि गाउँमै रहेका छन्। हरेक वर्ष हिउँदमा ‘चेने’ भन्ने स्थानमा झर्ने परम्परा रहेकामा गत वर्षदेखि बस्तीमै बस्ने अभ्यास सुरु गरिएको हो। यस वर्ष पनि उनीहरू बस्तीमै रहेको स्थानीयले बताएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका उच्च स्थानमा रहेका प्रमुख मतदान केन्द्र याङ्मा, ओलाङचुङगोला र घुन्सा नै हुन्। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार ल्होसार मनाएर बस्ती फर्कने भएकाले मतदाताको तर्फबाट खास समस्या नदेखिए पनि मौसम चुनौतीपूर्ण हुनसक्छ।

‘हिउँ परेमा मतदान गराउने कर्मचारीलाई समस्या हुनसक्छ,’ उनले भने, ‘हाम्रो बस्तीमा स्थानीय तहबाहेकका चुनावमा नेताहरू भोट माग्न प्रायः आउँदैनन्, बाहिर रहेका मतदाता पनि खासै फर्किँदैनन्।’ वडाध्यक्ष लामाका अनुसार गाउँमै रहेका मतदाताले भने मतदान गर्नेछन् । उनीहरू फागुन २० गतेसम्म बस्ती पुगिसक्ने अनुमान गरिएको छ।

तथ्याङ्कअनुसार याङ्मामा ६१, ओलाङचुङगोलामा २७६ र घुन्सामा १६६ मतदाता छन्। अघिल्लो निर्वाचनमा याङ्मामा मात्र १३ मत र ओलाङचुङगोलामा ९६ मत खसेको थियो। ओलाङचुङगोला र घुन्सामा यो वर्ष पनि करिब एक सयको हाराहारीमा मात्रै मत खस्ने अनुमान छ ।

जाडोयामले सुनसान बनेका यी उच्च हिमाली बस्तीमा ल्होसारपछि मात्रै चहलपहल बढ्ने अपेक्षा गरिएको छ। तर, निर्वाचन नजिकिँदै गर्दा स्थानीयहरू साँच्चै मत हाल्न फर्केलान् कि नफर्केलान् भन्ने प्रश्न भने अझै खुल्लै छ।

घुन्साको आधारभूत विद्यालय फागुन १० गतेदेखि पुनः सञ्चालनमा ल्याउने तयारी छ । जाडोयामका कारण लामो समय बन्द रहेको विद्यालय खुलाउन प्रधानाध्यापक विद्यानन्द सिंह फागुन ९ गते विराटनगरबाट घुन्सा पुग्ने तयारीमा छन् । तर, विद्यालय खुले पनि विद्यार्थी भने फागुन १८–२० पछि मात्रै बस्ती फर्कने सम्भावना छ।

प्रधानाध्यापक सिंहका अनुसार शेर्पा समुदायले फागुन ६ गते मनाउने ल्होसार पर्वपछि मात्रै घुन्सामा फर्कने चलन छ । ‘अघिल्ला वर्षको ट्रेन्ड हेर्दा ल्होसार सकेपछि मात्र बस्ती फर्कने सुरसार हुन्छ,’ उनले भने, ‘फागुन १५ गतेसम्म मान्छेहरू बिस्तारै आइपुग्ने सम्भावना देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।