लोड हुँदैछ...

मेनु

इटहरीमा ब्राउन सुगरसहित एकै परिवारका तीन जना पक्राउ

इटहरीमा ब्राउन सुगरसहित एकै परिवारका तीन जना पक्राउ

इटहरी । इटहरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित एकै परिवारका तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३५ वर्षीया जैतुन खातुन, उनका १९ वर्षीय छोरा मोहमद सैफुदिन र नन्द ३५ वर्षीया मन्जिना खातुन रहेका छन्।

प्रहरीका अनुसार मस्लाउदिन मियाँको घरमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा सोमबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले छापा मारेको हो। छापाका क्रममा घरभित्रबाट जैतुन खातुन, उनका छोरा र बहिनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा १० ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार ९० हजार रुपैयाँ नगद पनि बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।