विराटगनर । पूर्वाञ्चल विश्वविद्यालयले आगामी माघ २९ र फागुन १ गते दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । हिमाली भविष्यको परिकल्पना : दिगोपना र विकासका मार्गहरू विषयमा आधारित उक्त सम्मेलन मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुनेछ ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एवं डिन प्रा.डा. भोलानाथ शर्मा घिमिरेले ‘पियूआइकन २०२६’ नाम दिइएको यो सम्मेलन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्मेलन श्रृंखलाको एक ब्रान्ड भएको जानकारी दिए ।
नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, अमेरिका लगायत १२ भन्दा बढी देशका ३०० भन्दा बढी प्राज्ञहरू, नीति निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूको सहभागिता रहनेछ । सम्मेलनमा विभिन्न विधामा केन्द्रित रही १२ भन्दा बढी ‘कि–नोट’ मन्तव्यहरू रहनेछन् । प्राप्त १८१ संक्षिप्त लेख मध्ये करिब १५० जना सहभागीहरूले आफ्नो शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले बताए ।
‘हिमाली क्षेत्रको दिगो भविष्य, जलवायु परिवर्तन र यसले पारेको प्रभावबारे प्राज्ञिक बहस गराउनु यसको मुख्य उद्देश्य हो,’ उनले भने, ‘ सम्मेलनबाट प्राप्त निष्कर्षले भविष्यमा विश्वविद्यालयमा अनुसन्धान केन्द्र सञ्चालन गर्न र नयाँ शैक्षिक कार्यक्रमहरूको पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।’
सम्मेलनको संरक्षण पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले गर्ने भएका छन् भने सफलताका लागि विभिन्न डिन, निर्देशक र विज्ञहरूसहितको १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ । माघ २९ गते एक विशेष समारोहका बीच अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।