लोड हुँदैछ...

मेनु

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

विराटनगर । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ। अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गरेपछि बजार सामान्य घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ३.०७ अंकले घट्दै २७६९.०९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले ओरालो लागेको छ।

परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। आइतबार १३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारबाट १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य सर्किटमा पुगेको हो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा ट्रेड टावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। घटेका स्टकहरूको मूल्य गिरावट भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६५ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ५२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६७ प्रतिशतले बढेको छ। जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।