लोड हुँदैछ...

मेनु

पाथीभरा केवलकार परियोजना रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम

पाथीभरा केवलकार परियोजना रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम

धनकुटा । ताप्लेजुङको पाथीभरा जाने बाटोमा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ।

कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

धनकुटाको मदन चौकमा आयोजित कोणसभामा वक्ताहरूले मुकुम्लुङ–पाथीभरा क्षेत्र आदिवासी समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक आस्थाको केन्द्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा केवलकार निर्माण भए पहिचान, परम्परा र वातावरणमा गम्भीर असर पर्ने दाबी गरेका छन्। उनीहरूले विकासको नाममा स्थानीय समुदायको भावना, धार्मिक मान्यता र ऐतिहासिक महत्वमाथि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

विरोध सभालाई सम्बोधन गर्दै किराँत याक्थुमचुम्लुङका केन्द्रीय सदस्य चन्द्रसिंह नेम्वाङ, विश्वहिन्दु महासंघ कोशी प्रदेशका आनन्द सन्तोषी राईलगायतले मुकुम्लुङ केवल धार्मिकस्थल मात्र नभई आदिवासी समुदायको सभ्यता, संस्कार र आत्मसम्मानसँग जोडिएको भूमि भएको बताए। उनीहरूले पूर्वसूचना, स्थानीयको सहमति र पर्याप्त वातावरणीय अध्ययन बिना अगाडि बढाइएका कुनै पनि आयोजना खारेज गर्नुपर्ने माग राखे।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले विकासका नाममा स्थानीय संस्कृति, प्रकृति र आस्थामाथि चोट पुर्‍याउन नहुने स्पष्ट पारे। यसअघि पनि ताप्लेजुङ, धरान, विराटनगरलगायत स्थानमा केवलकार निर्माणको विरोधमा प्रदर्शन, ज्ञापनपत्र र सांकेतिक आन्दोलन हुँदै आएका छन्।

आयोजकहरूले माघ १८ गतेदेखि ताप्लेजुङमा केवलकार निर्माणविरुद्ध चरणबद्ध आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।