विराटनगर । विराटनगर महानगरपालिकाको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगर क्षेत्रका विभिन्न स्थानमा नयाँ पाइप बिछ्याउने काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।
करिब ३० वर्ष पुराना खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गरी आधुनिक वितरण प्रणाली स्थापना गर्ने उद्देश्यसहित २ अर्ब २९ करोड रुपैयाँ लागतको आयोजना कार्यान्वयनमा रहेको छ।
आयोजना अन्तर्गत हालसम्म ५८ किलोमिटरमध्ये ५० किलोमिटरमा नयाँ पाइप बिछ्याइसकिएको छ । जुन करिब ९० प्रतिशत प्रगति हो। पाइप बिछ्याउनेसँगै प्रेसर टेस्ट, हाउस कनेक्सन र इन्टर कनेक्सनको काम पनि सँगसँगै भइरहेको नेपाल खानेपानी संस्थान विराटनगरका साइड इन्जिनियर विरेन्द्र कुमार यादवले जानकारी दिए।
पाइप बिछ्याउन खनिएका सडकमा कालोपत्रे गर्ने काम पनि सुरु भइसकेको छ। आयोजना विराटनगर महानगरपालिकाका १ देखि १४ सम्म विस्तार भइरहेको छ ।
खानेपानी सुधार आयोजना जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा सञ्चालन भइरहेको हो । आयोजनाबाट करिब एक लाख नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ । निर्माणाधीन ट्याङ्कीबाट वडा नम्बर ४, ५, ६, ७ र ११ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
ट्याङ्की निर्माणको करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सम्झौताको म्याद सकिन अझै ६ महिना बाँकी रहेको यादवले बताए। यही अवधिभित्र घरघरमा पानी पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ।
आयोजना अन्तर्गत विराटनगरका चार स्थानमा भण्डारण ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । यस्तै, थप १२ लाख लिटर क्षमताको नयाँ ट्याङ्की निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । नयाँ र पुराना ट्याङ्की गरी कुल भण्डारण क्षमता साढे ५२ लाख लिटर पुग्नेछ। विराटनगर–५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की तथा साढे चार लाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्की निर्माणाधीन अवस्थामा छ।
देवकोटाचौक, तीनपैनी र मुनालपथमा पनि १२–१२ लाख लिटर क्षमताका ट्याङ्की निर्माण भइरहेका छन् । जहाँ तीन–तीन वटा डिप बोरिङबाट पानी निकाल्ने काम सम्पन्न भइसकेको छ।
विराटनगरमा खानेपानी संस्थानमार्फत १३ हजार घरधुरीमा पानी वितरण भइरहेको छ। नयाँ आयोजना सम्पन्न भएपछि करिब एक लाख नागरिक लाभान्वित हुने अपेक्षा छ। महानगरमा त्यसबाहेक उपभोक्ता समितिमार्फत पनि खानेपानी वितरण हुँदै आएको छ।
आयोजना अन्तर्गत आगलागी नियन्त्रणका लागि महानगरपालिकाका ३२ स्थानमा फायर हाइड्रेण्ट जडान गरिएको छ । जसले आगलागीका बेला पानीको सहज स्रोतको रूपमा काम गर्नेछ।
विराटनगरको खानेपानी सुधार आयोजनाका लागि जाइका ले सन् २००९ देखि अध्ययन सुरु गरेको थियो। विराटनगरमा हेपाटाइटिस महामारी फैलिएपछि खानेपानी सुधारलाई राजनीतिक प्राथमिकतामा राख्दै प्रक्रिया अगाडि बढाइएको थियो ।
अनुदान सम्झौता सन् २०२२ मार्च १० मा भएकोमा आयोजना २०८१ असारमा गरिएको थियो। सम्झौताअनुसार २०८३ जेठ १७ अर्थात् ३१ मे २०२६ भित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २०८१ वैशाख १२ गते जापानी कम्पनी सिमिजु कर्पोरेसनसँग ठेक्का सम्झौता गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।