लोड हुँदैछ...

मेनु

सुनको मूल्यमा ऐतिहासिक फड्को : अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक प्रतिऔंस ५ हजार डलर नाघ्यो

सुनको मूल्यमा ऐतिहासिक फड्को : अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक प्रतिऔंस ५ हजार डलर नाघ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ इतिहास रचेको छ। इतिहासमै पहिलो पटक सुनको मूल्य प्रतिऔंस ५ हजार डलर (करिब ३,६५९ पाउन्ड) नाघेको छ। सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको मूल्यले यो वर्ष पनि आफ्नो ऐतिहासिक वृद्धि यात्रालाई निरन्तरता दिएको हो।

विश्वमा बढ्दै गएको वित्तीय र भू –राजनीतिक अनिश्चयका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित भएका हुन्। विशेष गरी ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बीच बढेको तनावले विश्व बजारमा हलचल ल्याएको छ।

यसैगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिले पनि लगानीकर्ताहरूलाई सशङ्कित बनाएको छ। हालै मात्र राष्ट्रपति ट्रम्पले यदि क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ)लगाउने चेतावनी दिएका थिए। यस्तो अस्थिरताका बीच लगानीकर्ताहरूले सेयर बजार वा डलरभन्दा सुनलाई ‘सुरक्षित लगानीका रूपमा रोजेका छन्।

सुनको मूल्य अकासिनुमा अस्वाभाविक रूपमा बढेको मुद्रास्फीति, कमजोर बन्दै गएको अमेरिकी डलर र विश्वभरका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनुलाई मुख्य कारण मानिएको छ। साथै, अमेरिकी फेडरल रिजर्भले यो वर्ष फेरि ब्याजदर घटाउने अपेक्षाले पनि सुनको बजारलाई थप उकासेको छ।

युक्रेन र गाजामा जारी युद्धका साथै वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाले सिर्जना गरेको अन्तर्राष्ट्रिय तनावले पनि सुनको माग र मूल्य बढाउन मद्दत पुर्‍याएको छ।

सुनसँगै चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार चाँदीको मूल्य पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको छ। गत वर्ष चाँदीको मूल्यमा करिब १५० प्रतिशतको भारी वृद्धि देखिएको थियो। आर्थिक र राजनीतिक संकटका बेला बहुमूल्य धातुको माग बढ्ने विश्वव्यापी ट्रेन्ड यसपटक अझ सशक्त रूपमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।