धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा आवश्यक पर्ने निर्वाचन प्रहरी (म्यादी) को कोटा अझै पुरा हुन सकेको छैन । पटक–पटक म्याद थप्दा समेत मागअनुसार आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले पुनः दरखास्त आह्वान गरेको छ ।
निर्धारित कोटाअनुसार जनशक्ति अपुग भएपछि रिक्त रहेका ६७ पदका लागि शनिबार र आइतबार आवेदन दिन सकिने गरी समय थप गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार यसअघि थपिएको समयमा पनि पर्याप्त आवेदन नआएकाले इच्छुक उम्मेदवारका लागि फेरि अवसर दिइएको हो ।
किन थपियो त समय ?
सरकारले देशभर पुस २५ देखि माघ १ गतेसम्मका लागि निर्वाचन प्रहरीको भर्ना खोलेको थियो । धनकुटाका लागि कुल १ हजार ८५ जनाको कोटा तोकिएकोमा पहिलो चरणमा जम्मा ८ सय ७६ जनाले मात्र आवेदन दिएका थिए । करिब २ सय ९ जनाको संख्या कम भएपछि पहिलो पटक माघ ३ गतेसम्मका लागि म्याद थपिएको थियो । तर, उक्त अवधिमा पनि सबै कोटा भरिन नसकेपछि अहिले दोस्रो पटक म्याद थप गरी भर्ना प्रक्रियालाई निरन्तरता दिइएको हो ।
कहाँ दिने आवेदन ?
इच्छुक नेपाली नागरिकले धनकुटा जिल्लाका विभिन्न चार स्थानबाट आवेदन दर्ता गर्न सक्नेछन् । जिल्ला प्रहरी कार्यालय धनकुटासहित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर (छिन्ताङ), इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय राजारानीमा दरखास्त बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।
निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन म्यादी प्रहरीको भूमिका महत्वपूर्ण हुने भए पनि धनकुटामा भने युवाहरूको आकर्षण अपेक्षा गरेभन्दा कम देखिएको छ । ६७ जनाको सिट अझै खाली रहेकाले योग्य उम्मेदवारलाई तुरुन्त सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।