लोड हुँदैछ...

मेनु

रास्वपा नेता पाण्डेद्वारा महामन्त्री बुर्लाकोटीलाई लखेट्न आग्रह !

रास्वपा नेता पाण्डेद्वारा महामन्त्री बुर्लाकोटीलाई लखेट्न आग्रह !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता महेन्द्र पाण्डेले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेता कबिन्द्र बुर्लाकोटीलाई भोट नदिन अपील गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै पाण्डेले बुर्लाकोटीलाई “गाउँगाउँबाट लखेट्नुपर्ने” अभिव्यक्ति दिएका हुन् ।

पाण्डेले रास्वपामा इमान्दार र निष्ठावान कार्यकर्ताको भविष्य नरहेको भन्दै टिकट वितरणलाई महामन्त्री बुर्र्लाकोटीले कमाउ धन्दा बनाइएको आरोप लगाए । बुर्लाकोटी र शंकर श्रेष्ठजस्ता व्यक्तिले निलो क्रान्तिको नाममा पैसाको खेल चलाएको उनको दावी छ ।

“रास्वपामा अब हामीजस्ता निष्ठावान कार्यकर्ताको भविष्य छैन,” उनले भने । टिकट वितरण प्रक्रिया मोटो रकम दिन सक्नेहरूका लागि मात्र सीमित बनाइएको भन्दै रास्वपा हुँदा खानेको नभएर हुनेखानेको पार्टी बनेको आरोप लगाए । पैसाका आधारमा टिकट दिएर आफूहरुमाथि अन्याय गरेको उनको गुनासो छ ।

बुर्लाकोटीको गतिविधिका कारण पूर्वदेखि पश्चिमसम्मका इमान्दार कार्यकर्ताको मन छियाँछियाँ भएको पाण्डेले दावी गरे । “कबिन्द्र बुर्लाकोटीजस्ता पापीलाई गाउँगाउँबाट लखेट्नुहोला र इमान्दार उम्मेदवारलाई भोट हाल्नुहोला,” उनले भने । रास्वपामा इमान्दार नेता तथा कार्यकर्ताको भविष्य नभएको भन्दै उनले अब स्वतन्त्र अभियान चलाउने घोषणा पनि गरेका छन् ।

पाण्डेले केही दिनभित्र भेला गरेर आगामी निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने निर्णय गर्ने जानकारी दिए ।पार्टी सभापति रवि लामिछाने स्वार्थी र गलत नियत भएका व्यक्तिहरूको घेराबन्दीमा परेको दाबी गर्दै उनले ती व्यक्तिहरूमाथि कारबाही नभएसम्म रास्वपा अगाडि बढ्न नसक्ने जिकिर गरे ।

कर्णाली मात्र नभई देशभरका इमान्दार कार्यकर्ता रास्वपा नेतृत्वबाट पीडित भएको पाण्डेको दावी छ । हुम्ला स्थायी घर भएका पाण्डे रास्वपाको स्थापनाकालदेखि नै कर्णाली प्रदेशमा सक्रिय रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।