लोड हुँदैछ...

मेनु

“सुचना प्रविधिले जोड्दै अदालत-झापाबाट धनकुटा इजलासमा पहिलो पटक भर्चुअल बहस”

“सुचना प्रविधिले जोड्दै अदालत-झापाबाट धनकुटा इजलासमा पहिलो पटक भर्चुअल बहस”

झापा ।  उच्च अदालत विराटनगर धनकुटा इजलासमा झापा जिल्ला अदालतबाट आज पहिलो पटक भर्चुअल बहस (श्रव्यदृश्य सुनुवाइ भएको छ। 

धनकुटा इजलासका माननीय न्यायाधीश कृष्णलाल भट्टराई र मिना गौतम सेढाईको संयुक्त इजलासमा झापा बार महिला समिति अध्यक्ष एवं झापा बारकी सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले झापा जिल्ला अदालतको अनलाइन बहस कक्षबाट भर्चुअल बहस गर्नु भएको थियो।

पक्ष र कानुन व्यवसायीहरु इजलासमक्ष प्रत्यक्ष भौतिक उपस्थिति बिना हुने श्रव्यदृश्य सुनुवाई (भर्चुअल बहस) कोभिड १९ महामारीको समयमा सर्वोच्च र उच्च अदालतहरुमा २०७७/७८ सालदेखी व्यापक अभ्यासमा ल्याइएको थियो। विशेषगरी जिल्ला अदालतबाट उच्च अदालत टाढा हुँदा समय र खर्च पनि बढी लाग्ने हुँदा त्यस्ता जिल्लालाई प्राथमिकता दिँदै अनलाइन बहसको सुरुवात गरिएको थियो।   

भर्चुअल सुनुवाईमा अदालतले युजर आइडी र पासवर्ड सम्बन्धित बार वा कानुन व्यावसायीको इमेल मार्फत जानकारी गराउनेछ ।

 प्रचलित कानुनबमोजिम जारी गरिने पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जीको स्वीकृति, हिरासतमा वा निगरानी कक्षमा राख्ने आदेश, थुनछेकसम्बन्धी कार्य, बयान, बकपत्र र बहस पैरवी नेपालभरमा जहाँबाट पनि उच्च अदालतहरुमा श्रव्यदृश्य (भर्चुअल ) मार्फत बहस गर्न सकिने ब्यबस्था छ।

भर्चुअल सुनुवाइ भइरहेको समयमा पालना गर्नुपर्ने केही नियम छन् । कानुन व्यवसायी तोकिएको पोसाकमा इजलासको मर्यादा कायम हुने गरी सहभागी हुनुपर्ने, बहसको समयमा प्रत्यक्ष इजलासमा जस्तै अनुशासन र मर्यादा कायम राख्नुपर्ने, बन्द इजलासबाट सुरु हुने मुद्दामा सम्बन्धित कानुन व्यवसायी र मुद्दाको पक्ष स्वयंबाहेक अरूलाई प्रवेश अनुमति दिनुहुँदैन, मुद्दाको सुनुवाइमा सान्दर्भिक कुराबाहेक अरू केही गर्न पाइनेछैन, मुद्दाको पालो आउने समयको व्यवस्था गरी कानुन व्यवसायी यथासमयमा भिडियो स्क्रिनमा उपस्थित हुनुपर्ने, इजालसको गतिविधि अन्यत्र सेयर गर्न नपाइँने र इजलास बसिरहेको वेलामा तस्बिर खिची सामाजिक सञ्जालमा राख्न पाइँदैन, इजलासमा भएको गतिविधि रेकर्ड गर्न, प्रचार–प्रसार गर्न पाइँदैन, बहस गर्दा तोकिएको स्थानमा उभिएर प्रत्यक्ष इजलासमा जस्तै बहस गर्ने रीतसँगै गर्नुपर्ने जस्ता नियमको पालना गर्नुपर्ने छ।

न्यायालयलाई प्रविधि मैत्री बनाउन सुचना प्रविधिको विकासका लागि आवश्यक पुर्वाधारको विस्तार, स्तरोन्नति, अनलाईन उपकरण, डिजिटल सफ्टवेयरहरू र इन्टरनेट क्षमतामा अभिवृद्धि गर्दै प्रविधि मैत्री जनशक्ति थप गरेमा श्रव्यदृश्य सुनुवाइ अझ प्रभावकारी हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds