विराटनगर । बुधबार सेयर बजार करेक्शनमा गएको छ। पछिल्ला चार कारोबार दिनमा करिब ८० अंकले उकालो लागेको नेप्से परिसूचक यस दिन ९.४३ अंक घटेर २७०५.३८ विन्दुमा झरेको छ ।
बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा करेक्शन देखिएको विश्लेषण गरिएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेका छन्।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२४ स्टकको ८९ हजार ७६६ पटकको कारोबारबाट ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ।
स्टकगत रूपमा कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढ्यो। नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै र रिभर फल्स पावरको साढे ५ प्रतिशतले बढ्दा अन्य अधिकांश स्टकको वृद्धि दर ५ प्रतिशतभन्दा कममै सीमित रह्यो। घट्ने पक्षमा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड रुपैयाँ नाघेको कारोबार भएको छ।
बजारका १३ उपसमूहमध्ये बुधबार एक मात्रै उपसमूह बढ्यो भने १२ उपसमूह घटे । ‘अन्य’ उपसमूह ०.२६ प्रतिशतले बढ्दा वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूह एक प्रतिशतभन्दा बढीले घटेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।