लोड हुँदैछ...

मेनु

सुनको मूल्यमा भारी वृद्धि : एकैदिन तोलामा १० हजार ४०० ले बढ्यो

सुनको मूल्यमा भारी वृद्धि : एकैदिन तोलामा १० हजार ४०० ले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज (बुधबार) उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो।

महासङ्घले तोकेको नयाँ मूल्यअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। मङ्गलबार प्रतितोला सुन दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला पाँच हजार ९२० रुपैयाँ कायम भएको छ। मङ्गलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ थियो।

यस साताको सुरुवातदेखि नै सुनको मूल्य निरन्तर बढिरहेको छ। गत आइतबार प्रतितोला दुई लाख ७८ हजार ८०० मा कारोबार भएको सुन सोमबार दुई लाख ८२ हजार रुपैयाँ पुगेको थियो। यस्तै, आइतबार पाँच हजार ६२५ रहेको चाँदी सोमबार पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो।

नेपाली बजारमा सुनको मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार ७४० अमेरिकी डलर र चाँदी प्रतिऔंस ९५ डलरमा कारोबार भइरहेको छ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, बढ्दो मुद्रास्फीति र विभिन्न मुलुकहरूबीचको भूराजनीतिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा लागेका छन्। सुरक्षित लगानीका रूपमा सुन र चाँदीको माग विश्वभर नै बढेकाले यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।