विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापालाई २०८२ साल पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।
ओखलढुङ्गामा भएका दुईवटा जघन्य र बीभत्स हत्याकाण्डको सफल अनुसन्धान गरी अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै थापालाई यो सम्मान प्रदान गरिएको हो।
प्रहरी निरीक्षक थापाले ओखलढुङ्गामा घटेका दुईवटा ठूला आपराधिक घटनाको पर्दाफास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
रत्न कुमारी कटवाल हत्याकाण्ड २०८२ असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को हतियारधारी समूहले बन्चरो प्रहार गरी हत्या गरेको थियो। हत्यापछि उक्त समूहले नगद र सुनका गहना लुटपाट गरेको थियो। उक्त जटिल घटनाको सफल अनुसन्धानमा थापाको विशेष योगदान रहेको थियो।
२०८२ पुस १५ गते ओखलढुङ्गाकै चिशंखुगढी गाउँपालिका–६ का किराना पसल सञ्चालक ६० वर्षीय सोवितमान थापा मगर र उनकी पत्नी रत्नमाया थापा मगरको कोदालो प्रहार गरी बीभत्स हत्या गरिएको थियो। हत्यापछि १ लाख नगद र ८ तोला सुन लुटिएको उक्त घटनामा संलग्न ४ जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन थापाले प्रशंसनीय कार्य गरेका थिए।
विभागीय मूल्य–मान्यता र आदेशको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेकोमा थापालाई पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गम्भीर प्रकृतिका अपराधको सफल अनुसन्धान गरी आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउन उनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै यो घोषणा गरिएको हो।
प्रहरी निरीक्षक थापाको यस सफलताले प्रहरी संगठनको छवि उच्च बनाउन र अपराधीहरूमा कानुनी त्रास पैदा गर्न मद्दत पुगेको प्रदेश प्रहरीले उल्लेख गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।