काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने क्रमले आज पनि निरन्तरता पाएको छ । विगत पाँच दिनदेखि लगातार उकालो लागिरहेको सुनको मूल्य आज(शुक्रबार) थप बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ७०० रुपैयाँले बढेको हो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य ५ हजार ४८५ रुपैयाँ रहेको थियो, जुन आजको तुलनामा १६० रुपैयाँले कम हो ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ७८ हजार र चाँदी ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो भने मङ्गलबार सुन २ लाख ७६ हजार ५०० र चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार प्रतितोला २ लाख ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्यमा पछिल्लो केही दिनयता उल्लेख्य वृद्धि देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा तिब्र उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ४ हजार ६१५ अमेरिकी डलर र प्रतिऔंस चाँदी ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।