विराटनगरु । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक र कानुनी प्रक्रिया तीव्र पारेको छ।
बिहीबार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको घोषणापत्र निर्माणका लागि सभापति थापाकै अध्यक्षतामा घोषणा पत्र निर्माण समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले घोषणापत्र निर्माणसँगै निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्तिलाई देशभर सक्रिय रूपमा परिचालन गर्ने निर्णय भएको बताए। उनका अनुसार निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ ।
दोस्रो विशेष महाधिवेशनपछि पार्टीका विगतका अभिलेखलाई आवधिक गर्ने तयारी भइरहेको र निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूची संशोधन तथा अपडेट गर्ने निर्णयसमेत बैठकले गरेको छ। विशेष महाधिवेशन सफल बनाउन भूमिका खेलेका नेता–कार्यकर्ता र प्रतिनिधिहरूप्रति बैठकले धन्यवादसमेत व्यक्त गरेको छ।
यसैबीच थापाले विशेष महाधिवेशनपछि पार्टीको पदाधिकारी तथा संरचनामा आएको परिवर्तन अद्यावधिक गर्न निर्वाचन आयोगलाई छिटो निर्णय दिन आग्रह गरेका छन्। विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएपछि ती विवरण आयोगमा अद्यावधिक गराउनुपर्ने भएकाले थापासहित नवनिर्वाचित कार्यसमिति र कानुनविद्को टोली बिहीबार निर्वाचन आयोग पुगेको थियो ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तसँग भएको भेटमा थापाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आवश्यक सबै विवरण पेस गरिएको भन्दै यथाशीघ्र निर्णय गरिदिन अनुरोध गरेका थिए । उनका अनुसार विधानअनुसार सम्पन्न विशेष महाधिवेशनका सबै कागजात र विवरण आयोगसमक्ष बुझाइसकिएको छ।
निर्वाचन आयोग पुगेको टोलीमा सभापति थापासहित उपसभापतिहरू विश्वप्रकाश शर्मा, पुष्पा भुसाललगायत नेता तथा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र यदुनाथ खनाल पनि सहभागी थिए। आयोगले कांग्रेसको निवेदन स्वीकार गरेपनि हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।