लोड हुँदैछ...

मेनु

सहमतिको लागि गगन थापालाई भावी प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्ने ‘अन्तिम विकल्प’

सहमतिको लागि गगन थापालाई भावी प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्ने ‘अन्तिम विकल्प’

विराटनगर । नेपाली कांग्रेसलाई एक ढिक्का बनाउन भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्तावसहित सहमतिका लागि ‘अन्तिम विकल्प’ संस्थापन पक्षलाई पठाएका छन् ।

दुई महामन्त्रीले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाएको सन्देशमा आगामी चुनाबमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने प्रस्ताव छ ।

प्रस्तावमा सभापति शेरबहादुर देउवा पार्टीको कार्यकारी भूमिकाबाट अलग रहने, संसदका उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापतिको हस्ताक्षर हुने, विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिने, कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने, सर्वस्वीकार्य संसदीय बोर्डमार्फत टिकट वितरण गर्ने, निर्वाचन केन्द्रित पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्ने र विशेष महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्ने विषय समेटिएका छन् ।

अर्को महाधिवेशन नभएसम्म चार–पाँच शीर्ष नेतासहितको उच्चस्तरीय ‘हाइ कमान्ड’ बनाएर पार्टी विषय पनि त्यसमा छ । हाइकमान्डमा कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा तथा वरिष्ठ नेता शेखर कोइरालालगायत रहनेबारे मंगलबारदेखि छलफल चलिरहेको छ ।

सोही संयन्त्रले अर्को महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि र आवश्यक निर्णयहरू लिने प्रस्ताव छ । कांग्रेसको १५औँ महाधिवेशन वैशाखमा गर्ने तय भएको छ ।

सभापति देउवासँग बिहान महाराजगन्जस्थित निवासमा भएको वार्तामा सहमति जुट्न नसकेपछि महामन्त्रीद्वयले अन्तिम विकल्पको प्रस्ताव पठाएका हुन् । नयाँ प्रस्तावपछि कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपामा छलफलमा छन् । प्रवक्ता प्रकाशशरण महतले सभापति देउवा पार्टीका कामबाट अलग हुने र उम्मेदवारको टिकट वितरणमा आफ्नो हस्ताक्षर नहुने विषयमा लचिलो देखिएको बताइसकेका छन् ।

सहमतिको प्रयास चलिरहँदा विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र मतदान प्रक्रियामा ढिलाइ भएको छ । मनोनयन दर्ताअनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ भने महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल तथा सहमहामन्त्रीमा बहादुरसिंह लामाको उम्मेदवारी परेको छ । विशेष महाधिवेशनबाट एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुनेछन् ।

कांग्रेस विभाजन रोक्ने अन्तिम प्रयासस्वरूप भृकुटीमण्डपमा तय निर्वाचन कार्यक्रम ढिलाइ गरिएको र सानेपामा केन्द्रीय समितिको बैठक पनि सारिँदै आएको छ । पार्टीभित्र सहमति खोज्ने प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।