काठमाडौँ । प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमार्फत सामूहिक सन्देश पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन घर भएका ३४ वर्षीय सेढाईंलाई मंगलबार राति काठमाडौँको हात्तीसारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
गाडी व्यवसाय गर्दै आएका सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ मार्फत करिब ५० लाख एसएमएस पठाएको प्रहरीको भनाइ छ । सेढाईंले आफूले ठूलो संख्यामा सन्देश पठाएको स्वीकार गरेको एसपी आचार्यले बताए ।
सन्देशमार्फत जनतालाई आतङ्कित पारेको आरोप उनीमाथि लगाइएको छ । सेढाईंले पठाएको सन्देशमा ‘नेपालका सबै समस्याबाट सदाका लागि मुक्ति पाउन प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापना गर्न’ आह्वान गरिएको उल्लेख थियो ।
उनले सन्देशमार्फत पुस ३० गते १२ बजे निषेधित क्षेत्र बालुवाटारमा उपस्थित हुन आग्रह गरेका थिए । प्रहरीका अनुसार सेढाईंमाथि सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइनेछ । यस घटनापछि अनधिकृत रूपमा राजनीतिक उद्देश्यका लागि सामूहिक सन्देश पठाइएकामा टेलिकमको भूमिकाबारे पनि प्रश्न उठेको थियो ।
नेपाल टेलिकमले भने मंगलबार विज्ञप्ति जारी गर्दै एसएमएस सेवा व्यापार व्यवसाय प्रवर्द्धनका लागि मात्र स्वीकृति दिइने र जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने सन्देश प्रवाह नगर्न सेवा प्रदायकहरूलाई सचेत गराइएको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।