काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासहरूको नभई प्रश्न गर्न सक्ने जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसमा कसैले ‘नबोल’ भन्दैमा बोल्न छाड्ने कोही पनि नभएको स्पष्ट पारेका हुन् ।
‘दास र लासहरूको होइन, जिउँदो मानिसहरूको पार्टी’
महामन्त्री थापाले कांग्रेसभित्र प्रश्न गर्ने संस्कृतिको महत्त्वमाथि जोड दिँदै समाजको जिम्मेवारी पूरा गर्न पार्टीभित्र जीवन्तता आवश्यक रहेको बताए । ‘तपाईंहरूले जति गर्नुभएको छ, तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ कि कांग्रेस दास र लासहरूको पार्टी होइन, यो जिउँदो मानिसहरूको पार्टी हो,’ थापाले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो कांग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’
उनले पार्टीभित्र सबैको हैसियत बराबर रहेको उल्लेख गर्दै थपे, ‘यहाँ कुनै ‘बा’ छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन । हामी सबै बराबर छौं । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन ।’
‘नेपो–बेबी’को राज र कुशासनप्रति नागरिकको आक्रोश
भदौ २३ र २४ गते भएको ‘जेनजी’ (Gen Z) आन्दोलनको सन्दर्भ जोड्दै महामन्त्री थापाले सडकमा देखिएको आक्रोश व्यक्तिगत नभई भ्रष्टाचार र कुशासन विरुद्ध भएको बताए । उनले गणतन्त्रमा पनि ‘नेपो–बेबी’ (शक्तिशाली नेताका सन्तान) हरूको हालीमुहाली देखिएकाले युवाहरूमा चरम असन्तुष्टि पैदा भएको उल्लेख गरे ।
‘राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो–बेबीको राज देखेर नागरिक रिसाएका हुन्,’ थापाले भने, ‘नेपालका लाखौँलाख नरनारीहरूले सडकमा आएर पोखेको रिस व्यक्तिगत होइन, हाम्रो कामसँगको रिस हो । भ्रष्टाचार, कुशासन र बेथितिसँगको रिस हो ।’
सरकार र संसद्प्रतिको उत्तरदायित्व
उनले नागरिकको आक्रोशको निशानामा कांग्रेस स्वयं पनि रहेको स्वीकार गरे । ‘जनताले सरकारसँग रिस पोखेका हुन्, त्यो सरकारमा हामी थियौं । उनीहरू संसद्प्रति रिसाएका हुन्, त्यो संसद्मा हामी छौं,’ उनले आत्मालोचना गर्दै भने, ‘हाम्रो अगाडिको प्रश्नलाई अनदेखा गर्ने कि सम्बोधन गर्ने भन्ने नै अहिलेको मुख्य विषय हो । विशेष अधिवेशन त्यसैको एउटा प्रयास हो ।’
विशेष महाधिवेशनको सान्दर्भिकता
महामन्त्री थापाले पछिल्लो समय राजनीतिक कार्यक्रमहरूमा यति ठूलो जनसहभागिता र चासो विरलै देखिएको दाबी गरे । उनले यो अधिवेशनको नाम मात्र विशेष नभई, यसलाई कामले पनि विशेष बनाएर देखाउनुपर्ने चुनौती रहेको बताए ।
सम्बोधनका क्रममा उनले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पनि यस कार्यक्रममा सहभागिता होस् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गरे । कार्यकर्ताको उत्साहले कांग्रेसलाई ज्यूँदो राखेको भन्दै उनले अब पार्टीले समाजको प्रश्नको उत्तर खोज्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।