काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेटको खर्च ११ प्रतिशत पनि नपुगेको तथ्यांक सार्वजनिक भएको छ।
अर्थमन्त्रालयका अनुसार ४ खर्बभन्दा बढीको पुँजीगत बजेट विनियोजन गरिएको चालु आर्थिक वर्षमा पुस २६ गतेसम्म जम्मा ४३ अर्ब ६० करोड रुपैयाँ मात्र खर्च भएको छ ।
कुल विनियोजित बजेटको १०.६९ प्रतिशत मात्र विकास बजेट अहिलेसम्म खर्च भएको छ । गत आर्थिक वर्षको यही अवधिमा सरकारले ५३ अर्ब ५८ करोड रुपैयाँ पुँजीगत खर्च गरेको थियो । जुन विनियोजित बजेटको १५.२१ प्रतिशत थियो।
विकास बजेट अपेक्षाअनुसार खर्च हुन नसक्नुका कारणका रूपमा जेनजी आन्दोलन र रुग्ण ठेक्काका नाममा सम्झौता तोडिनु प्रमुख रहेको सम्बन्धित पक्षहरूको भनाइ छ । लामो समयसम्म प्रशासनिक संयन्त्र अलमलमा पर्दा विकास आयोजना अघि बढ्न सकेको छैन ।
अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले पुँजीगत खर्चको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । जेनजी आन्दोलनका कारण करिब एक–डेढ महिना प्रशासनिक संयन्त्र प्रभावित हुँदा विकास बजेट खर्चमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
अर्थमन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायलाई सहजीकरण गरिरहेको र अबका दिनमा पुँजीगत खर्चमा उल्लेख्य सुधार आउने उनले दाबी गरे। पाण्डेयले पुँजीगत खर्च सुस्त हुनुको अर्को कारण रुग्ण ठेक्कासँग पनि जोडिएको बताए। लामो समयसम्म काम नगरी बसेका ठेकदार र त्यसले विकासमा पार्ने असरलाई ध्यानमा राख्दै विद्यमान कानुनअनुसार केही निर्णय गरिएको र त्यसले भविष्यमा विकास निर्माणलाई सकारात्मक दिशामा लैजाने उनको भनाइ छ।
निर्माण व्यवसायीहरूले पनि विकास निर्माण प्रभावित भइरहेको स्वीकार गरेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विगतमा हचुवाका भरमा आयोजना छनोट गरेर अघि बढाइँदा अहिले धेरै आयोजनामा काम गर्न समस्या देखिएको बताए।
सिंहले सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार कार्यालय र निर्माण कम्पनीको सहमतिमा यस्ता आयोजनाको अन्त्य गर्नुपर्ने धारणा राखे। आयोजना अघि नबढ्नुमा सरकारी कार्यालय र निर्माण व्यवसायी दुवैको कमजोरी हुन सक्ने भन्दै कार्यालयको गल्ती भए सम्पूर्ण भुक्तानी दायित्व वहन गरेर ठेक्का अन्त्य गर्नुपर्ने र निर्माण कम्पनी दोषी भए कार्यसम्पादन जमानत जफत गरेर ठेक्का रद्द गर्नुपर्ने उनको भनाइ छ।
विकास बजेट खर्च नहुनुमा सरकार र निर्माण व्यवसायी एकअर्कालाई दोष दिँदै आएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।