भोजपुर । कुनै समय सुन्तला र अलैँचीका लागि प्रख्यात भोजपुर जिल्ला अहिले रुद्राक्ष खेतीको प्रमुख व्यावसायिक केन्द्रका रूपमा उदाएको छ । विशेष गरी जिल्लाको षडानन्द नगरपालिका रुद्राक्ष उत्पादनको हिसाबले नेपालकै राजधानी मानिन थालेको छ ।
नगर प्रमुख सुरेन्द्र कुमार उदासका अनुसार यस नगरपालिकामा मात्रै करिब एक लाख रुद्राक्षका बिरुवा छन्, जहाँबाट वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । यहाँ १ मुखेदेखि २९ मुखेसम्मका रुद्राक्ष उत्पादन हुन्छन् । भोजपुरका एक किसानले २१ मुखे रुद्राक्षलाई ७४ लाख रुपैयाँसम्ममा बिक्री गरेर कीर्तिमान समेत कायम गरेका छन् ।
प्राकृतिक रूपमा उपयुक्त हावापानी भएका कारण षडानन्दका साथै साल्पासिलिछो, रामप्रसाद राई र टेम्केमैयुङ गाउँपालिकामा समेत यसको व्यावसायिक खेती विस्तार भएको छ । धार्मिक र सांस्कृतिक महत्त्व रहेको रुद्राक्षबाट निर्मित माला, ब्रासलेट र अन्य सामग्रीहरू नेपालका प्रमुख सहरहरूका साथै भारत र चीनमा ठुलो परिमाणमा निर्यात हुने गरेका छन् ।
अल्पाल्प समयमा राम्रो आम्दानी दिने र दीर्घकालीन हुने भएकाले भोजपुरका किसानहरूका लागि रुद्राक्ष अहिले आर्थिक समृद्धिको मुख्य आधार बनेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।