विराटनगर । मोरङको बेलबारीमा ‘दोस्रो बेलबारी महोत्सव २०८२’ को भव्य आयोजना हुने भएको छ । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २५ गतेदेखि माघ ५ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।
बुधबार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरी संघले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । ‘स्थानीय उत्पादनलाई प्राथमिकता–स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको यस महोत्सवले स्थानीय आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने लक्ष्य राखेको छ । महोत्सवको औपचारिक उद्घाटन पुस २५ गते दिउँसो १ बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।
३ लाख दर्शक र करोडौँको कारोबारको लक्ष्य
पत्रकार सम्मेलनमा बोल्दै बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले महोत्सवलाई करिब ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए । उनका अनुसार महोत्सव आर्थिक रूपमा पनि सफल हुने विश्वास गरिएको छ । महोत्सवमा करिब १ करोड ६७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने १ करोड २७ लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ ।
महोत्सवबाट बचत हुने अनुमानित ४० लाख रुपैयाँ उद्योग वाणिज्य संघ बेलबारीको आफ्नै भवनको माथिल्लो तलामा बहुउद्देश्यीय सभाहल निर्माणमा खर्च गरिने संघले जनाएको छ ।
६३ स्टल र विशेष आकर्षण
महोत्सव स्थलमा कुल ६३ वटा व्यापारिक स्टलहरू रहनेछन् । संघका कार्यवाहक अध्यक्ष सन्दीप राईका अनुसार स्टलहरूमा विशेषगरी स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ । महोत्सवमा कृषि, पशुपक्षी, औद्योगिक उत्पादन, हस्तकलाका सामग्रीका साथै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका स्टलहरू रहनेछन् । साथै, आगन्तुकहरूका लागि विभिन्न परिकारका स्वाद लिन होटल तथा रेष्टुरेन्टका स्टलहरू पनि रहने बताइएको छ ।
मनोरञ्जनका लागि महोत्सवमा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरू, साङ्गीतिक व्याण्डहरू र विभिन्न सांस्कृतिक समूहहरूको प्रस्तुति रहनेछ । यसले स्थानीय कला र संस्कृतिलाई उजागर गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ ।
कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन यो महोत्सवले एउटा महत्वपूर्ण ‘शो–केस’ को रूपमा काम गर्ने बताइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी बेलबारी र आसपासका पर्यटकीय क्षेत्रहरूको पहिचान गराउन महोत्सवले सेतुको काम गर्ने बेलबारी संघका कार्यवहाक अध्यक्ष राईले बताए । कृषि र औद्योगिक क्षेत्रको यान्त्रिकीकरण र व्यवसायीकरणमा समेत यसले योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताए ।
महोत्सवको मुख्य प्रायोजकको रूपमा आरजु राईस मिल बेलबारी रहेको छ भने सह–प्रायोजकहरूमा चौधरी ग्रुपको एक्सट्रिम इनर्जी ड्रिङ्क, पीएलओ र द रिभर ओभरसिज लगायतका संस्थाहरू रहेका छन् ।
पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले बेलबारीको आर्थिक गतिविधि चलायमान बनाउन र स्थानीय व्यापारीहरूको मनोबल उच्च राख्न यो महोत्सव कोसेढुङ्गा सावित हुने बताएका छन् । आयोजकले सम्पूर्ण सञ्चारकर्मी र सर्वसाधारणलाई महोत्सव सफल पार्न सहयोगको अपिल समेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।