विराटनगर । निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी–पथरी सडक खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । आइतबार साँझ साढे ६ बजेतिर निर्माणको काम भइरहेकै बेला पुलको दक्षिणी भाग भासिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसीराम अर्यालका अनुसार पुल र सडकसँग जोडिएको माटो बगेका कारण पुलको दक्षिण–पश्चिम भाग भासिएको हो । राजमार्ग अवरुद्ध भएपछि प्रहरीले ठूला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । हाल पुलको उत्तरी भागबाट साना सवारी साधनलाई मात्र एकतर्फी रूपमा सञ्चालन गर्न दिइएको छ ।
पूर्वबाट पश्चिम जाने ठूला सवारी साधनलाई पथरीबाट १० किलोमिटर उत्तर जाँते पुगेर मदन भण्डारी राजमार्ग हुँदै लेटाङबाट दक्षिण कानेपोखरी निस्कने व्यवस्था मिलाइएको छ । त्यसैगरी, पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनहरू कानेपोखरीबाट उत्तर जाँते पुगेर दक्षिणतर्फ पथरीमा जोडिएका छन् ।
काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) इटहरीका आयोजना प्रमुख जगत प्रजापतिका अनुसार पुल जमिनको सतहबाट करिब १९–२० फिट उचाइमा रहेको छ । त्यहाँको माटो खुकुलो रहेकाले काम गर्ने क्रममा माटो बगेर पुल भासिएको उनले जानकारी दिए । आइतबार रातिदेखि नै ठूला सवारी साधनलाई वैकल्पिक मार्गबाट पठाउन थालिएको र पुलको दक्षिणतर्फ डाइभर्सन निर्माणको काम भइरहेको प्रजापतिले बताए ।
स्थानीय कुल बहादुर कट्वालका अनुसार २०२८ सालमा सडकको नक्सा भित्र पुल निर्माण गर्न नसकेर दक्षिणतर्फ सारेर निर्माण गरिएको थियो । मोरङ्गी खोलामा बाह्रै महिना पानी नसुक्ने, राजमार्ग आसपासको माटो अत्यन्तै खुकुलो भएको र जमिनमुनि पानीको सतह धेरै माथि रहेकाले त्यहाँ काम गर्न निकै जोखिमपूर्ण रहेको स्थानीय बताउँछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।