विराटनगर । स्रोत नखुलेको करिब चार लाख रुपैयाँ नगदसहित प्रहरीले विराटनगरबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्दै गरेका विराटनगर १० का उमेश साहलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित दिव्य ज्योति आँखा अस्पताल अगाडिबाट मोटरसाइकलमा सवार साहलाई शंकाका आधारमा रोकेर चेकजाँच गरेको थियो। प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकल चढेर भारततर्फबाट नेपाल प्रवेश गरिरहेका साहलाई दिउँसो करिब १ बजेर ४५ मिनेटमा जाँच गर्दा उनले लगाएको हेल्मेटभित्र तथा शरीरका विभिन्न भागमा लुकाइछिपाइ राखिएको अवस्थामा ३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ नगद फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन्।
प्रहरीका अनुसार बरामद रकममध्ये एक हजार रुपैयाँ दरका ३० थान, पाँच सय रुपैयाँ दरका ५ सय ३६ थान, एक सय रुपैयाँ दरका १ हजार १९ थान र पचास रुपैयाँको १ थान नोट रहेका छन्। यति ठूलो रकम बोकेर हिँड्नुको स्पष्ट कारण र स्रोतबारे सोधपुछ गर्दा साहले कुनै पनि विश्वसनीय विवरण दिन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा साहको गतिविधि शंकास्पद देखिएकाले चेकजाँच गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट साह कारोबारी भएको खुलेको जनाउँदै प्रहरीले बरामद नगद, मोटरसाइकल र पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।