इटहरी । आफ्नो नाममा रहेको करोडौँ मूल्यको जग्गा बैंकले लिलाम गरेपछि तनावमा परेका एक व्यक्तिले एनआईसी एशिया बैंकको इटहरी शाखा कार्यालयमै आत्मदाहको प्रयास गरेका छन्।
इटहरी–९ निवासी लालबहादुर पौडेलले सोमबार बैंक परिसरमै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका हुन् ।
पौडेल बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए । बैंकभित्र प्रवेश गरेपछि उनले शरीरमा पेट्रोल छर्कन थालेपछि होहल्ला मच्चिएको थियो । बैंकका कर्मचारी, सुरक्षागार्ड र केही सर्वसाधारणले उनलाई तत्काल नियन्त्रणमा लिएर ठूलो दुर्घटना हुनबाट जोगाएका थिए।
पौडेलले भने आफू अत्यन्त मानसिक तनावमा पुगेपछि यस्तो कदम चाल्न बाध्य भएको बताएका छन्। उनले इटहरीमा रहेको आफ्नो करोडौँ मूल्यको जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई सहयोगस्वरूप धितोमा राख्न दिएकोमा अहिले लिलामी परेको बताएका छन् ।
झापामा मदिरा उद्योग सञ्चालन गर्ने उद्देश्यले साहले ब्याज दिने सहमतिमा जग्गा धितो मागेको र त्यसैका आधारमा साढे दुई करोड रुपैयाँ बराबरको ऋण निकालिएको थियो। तर, साहले न त ब्याज तिरे न त बैंकको किस्ता । त्यसपछि बैंकले धितोमा राखिएको उक्त जग्गा लिलाम प्रक्रिया अघि बढाएको छ ।
पौडेलले आफूले सावा तिर्ने तयारीका लागि समय माग्दै आएकोमा बैंकले एकतर्फी रूपमा लिलामी प्रक्रिया अघि बढाएको बताएका छन् । अर्काको लापरबाही र बैंकको कठोर निर्णयले आफूलाई सडकमा पुग्ने अवस्थामा पुर्याएको महसुस भएपछि आत्मदहाको प्रयास गरेको उनको दाबी छ। उनले बैंकले आफ्नो पीडा नबुझी केवल कानुनी प्रक्रिया मात्रै हेरेको आरोपसमेत लगाएका छन्।
एनआईसी एशिया बैंकका सूचना अधिकारी जयेन्द्र रावलले भने पौडेल पनि बैंकका ऋणी भएको बताएका छन् । गंगाराम साह पनि बैंककै अर्का ऋणी रहेकोमा साहले ऋण नतिरेपछि बैंकले धितोमा राखिएको जग्गा लिलाम गरेको उनको भनाइ छ । जग्गा साहले धितो राखे पनि वास्तविक मालिक पौडेल रहेको उनले बताए ।
रावलका अनुसार बैंकले सम्पूर्ण प्रक्रिया र कानुनअनुसार नै लिलामी अघि बढाएको हो । प्रहरीले भने घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुबास हमालका अनुसार बैंकले ऋणको ब्याज र सावा तिर्न ताकेता गरिरहेको अवस्थामा पौडेल बैंक पुगेका थिए।
प्रारम्भिक अनुसन्धानबाट पौडेल आफैँ पनि ऋणी रहेको र अर्का व्यक्तिलाई सहयोग गर्ने नाममा आफ्नो जग्गा धितोमा दिएपछि समस्या थपिएको देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।