विराटनगर । साताको दोस्रो कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक सोमबार भने सुधारसहित बढेको हो ।
सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ३.७१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले उकालो लागेको छ।
परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। आइतबार ५ अर्ब १ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा सोमबार ३३५ स्टकको ८४ हजार ९९० पटकको कारोबारबाट ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, बन्दीपुर केबलकार एण्ड टुरिजम, रुरु जलविद्युत परियोजना र बाराही हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा पुगेको हो । यस दिन दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। घटेका स्टकहरूको मूल्य गिरावटदर भने ३ प्रतिशतभन्दा कममा सीमित रहेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स सोमबार शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब २१ करोड रुपैयाँको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ।
यस दिन बजारका १३ वटै उपसमूहको परिसूचक बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले उक्लिएको बजारमा विकास बैंक तथा होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढ्दा जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।