विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले यसअघि स्थान हद लगाएको थियो।
आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनका सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा उनले गरेका कामकारबाहीबारे सोधपुछ सम्पन्न भइसकेको र त्यस प्रयोजनका लागि लगाइएको विदेश भ्रमण रोक्का तथा काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय फुकुवा गरिएको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगले गत असोज १२ गतेको बैठकबाट ओलीमाथि स्थान हद लगाउने निर्णय गरेको थियो। तर, आवश्यक बयान तथा कागजात संकलनको प्रक्रिया पूरा भएपछि प्रतिबन्ध हटाइएको हो।
यसअघि आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा साढे दुई घण्टा बयान दिएका थिए। त्यही दिन उनले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष पनि लिखित स्टेटमेन्ट बुझाएका थिए। आयोगका सदस्यहरू ओलीको भक्तपुरस्थित गुण्डु निवासमै पुगेर बयान लिएका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा तत्कालीन सरकारका केही मन्त्री, सुरक्षा निकायका प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूसँग समेत बयान लिइसकेको छ । आयोगले घटनासम्बन्धी समग्र सत्यतथ्य पत्ता लगाउने उद्देश्यका साथ अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
बयानको क्रम सकिएकोले अब प्रतिबेदन लेखेर समयमै सरकारलाई बुझाउने आयोगले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।