लोड हुँदैछ...

मेनु

लगातार दोस्रो दिन पनि घट्यो नेप्से परिसूचक

लगातार दोस्रो दिन पनि घट्यो नेप्से परिसूचक

विराटनगर । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १०.२९ अंक घटेर २६१०.६३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंकले ओरालो लागेको छ।

परिसूचक घटे पनि कारोबार रकम भने बढेको देखिएको छ। गत बिहीबार ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ३२३ कम्पनीका ७९ हजार ७०२ पटकको कारोबारमार्फत ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ।

आइतबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको सेयर मूल्य सर्किट लेभलमा पुगेको हो। त्यस्तै सान्भि इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने सागर डिष्ट्रिलरी र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य करिब ८ प्रतिशतले उकालो लागेको छ। यस दिन घटेका स्टकहरूको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आइतबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको करिब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

बजारका १३ वटा उपसमूहमध्ये आइतबार ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक सामान्य रूपमा बढेको छ। अन्य उपसमूहको परिसूचक भने सर्वाधिक १.६९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।