लोड हुँदैछ...

मेनु

तराईमा हुस्सु र कुहिरोको बाक्लो प्रभाव, पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरोको बाक्लो प्रभाव, पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका तराई भू–भागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश भू–भाग हुस्सुले ढाकिएका छन् ।

महाशाखाले आजको मौसम सम्बन्धी बुलेटिन जारी गर्दै दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जानकारी दिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका केही स्थानमा राति पनि हुस्सु लाग्ने सम्भावना छ ।

तराई क्षेत्रमा लागेको हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले हुस्सुका कारण भिजिटिबिलिटी (दृश्यांश) कम हुन सक्ने भन्दै यात्रा गर्दा र स्वास्थ्यको ख्याल गर्दा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।