लोड हुँदैछ...

मेनु

सीप र रोजगारीबीचको असन्तुलनबारे विराट एक्स्पोमा छलफल

सीप र रोजगारीबीचको असन्तुलनबारे विराट एक्स्पोमा छलफल

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोमा ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा भएको छलफलले नेपालमा वर्षौंदेखि दोहोरिँदै आएको सीप र रोजगारीबीचको गहिरो असन्तुलनलाई फेरि उजागर गरेको छ।

सरकारी निकाय, तालिम प्रदायक र उद्योगी एकै मञ्चमा उपस्थित भए पनि व्यवहारमा सीपयुक्त जनशक्ति किन उद्योगसम्म पुग्न सकेको छैन भन्ने प्रश्न भने अझै अनुत्तरित देखिएको छ।

छलफलमा सिटिईभिटी, प्रदेश सरकार र उद्योग क्षेत्रका प्रतिनिधिले आ–आफ्नो भूमिकाको व्याख्या गरे। तर, विद्यार्थी बेरोजगार रहने र उद्योगले दक्ष जनशक्ति नपाउने अवस्था किन निरन्तर दोहोरिँदै आएको छ भन्ने मूल प्रश्नमा स्पष्ट जवाफ आउन सकेन।

सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझाले एचए, स्टाफ नर्स, सब–ओभरसियरलगायत प्राविधिक जनशक्ति उत्पादनमा संस्थाको योगदान उल्लेख गरे । ‘रियल वर्क’ मोडेल लागू गरिएको दाबी गरे पनि उद्योगहरूले माग गरिरहेको स्तरको दक्षता किन पूरा हुन सकेको छैन भन्ने विषयमा आत्मसमिक्षा आवश्यक देखिन्छ।

मोरङ उद्योग व्यापार संघकी कार्यकारी सदस्य डा.बन्दना जैनले बजारमा सीपयुक्त जनशक्तिको अभाव रहेको भन्दै विद्यार्थी र उद्योग दुवै असन्तुष्ट रहेको विरोधाभास औंल्याइन् । उद्योगमै तालिम दिएर पारिश्रमिक उपलब्ध गराउँदा पनि काम छाड्ने प्रवृत्ति बढ्नुले तालिम प्रणालीको गुणस्तर, श्रम संस्कार र दीर्घकालीन रोजगारी नीतिमाथि प्रश्न उठाएको छ।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठले ६२ प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति आवश्यक पर्ने तथ्य प्रस्तुत गरे। तर, अटोमेसन र डिजिटल प्रणालीमा गइसकेको प्राधिकरणका लागि वर्तमान तालिम प्रणालीले भविष्यको प्रविधिमैत्री जनशक्ति उत्पादन गर्न सक्ला कि नसक्ला भन्ने चिन्ता स्वयं प्राधिकरणले व्यक्त गर्नुले शिक्षा र प्रविधिबीचको दूरी प्रस्ट देखिन्छ।

प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव लक्ष्मी न्यौपानेले तीनवटा सीप परियोजना सञ्चालनमा रहेको जानकारी दिँदै सीप प्रमाणीकरण र वैदेशिक रोजगारी लक्षित तालिमको कुरा उठाइन् । तर, प्रदेशमै रोजगारी सिर्जना हुन नसक्दा सीप अन्ततः वैदेशिक श्रम बजारमा निर्यात हुने जोखिम कायमै छ। सिटिईभिटी प्रदेश सरकार मातहत आएपछि थप काम गर्न सकिने भनाइले हालको संरचनागत कमजोरी स्वीकार गरिएको संकेत पनि गर्छ।

सगरमाथा ग्रामेन्ट्सकी ललिता श्रेष्ठको व्यक्तिगत सफलताको उदाहरण प्रेरणादायी भए पनि यस्ता उदाहरण अपवाद बन्नु र प्रणालीगत सफलतामा नबदलिनु गम्भीर समस्या हो। सीप परीक्षण पास गरेर प्रमाणपत्र पाउनु मात्र पर्याप्त नभई त्यसअनुसारको दिगो रोजगारी सुनिश्चित हुनुपर्ने माग छलफलमा उठ्यो।

छलफलले एकातिर सीप विकासका कार्यक्रम, परियोजना र नीति प्रशस्त रहेको देखाए पनि अर्कोतिर ती कार्यक्रम रोजगारीसँग प्रभावकारी रूपमा जोडिन नसकेको यथार्थ उजागर गर्‍यो। नीति, तालिम र उद्योगबीचको कमजोर समन्वय नटुटेसम्म ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ भन्ने नारा छलफलकै विषयमा सीमित हुने खतरा कायमै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।