लोड हुँदैछ...

मेनु

प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन

प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न निर्देशन दिएका छन् ।

कोशी प्रदेश योजना आयोगको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश आयोजना बैंक मा समावेश भएका योजनाहरूलाई छुट्याएर आगामी दिनमा यसलाई व्यवस्थित र चुस्त ढङ्गले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

कोशी प्रदेशमा भइरहेको बसाईसराई लाई रोक्ने गरी अध्ययन अनुसन्धान गर्न र सो अनुसारको योजना अघि सार्न पनि मुख्यमन्त्री कार्कीले निर्देशन दिएका छन्। योजनाहरूको प्राथमिकीकरण र सीमित स्रोत साधनले पुग्ने गरी आयोजनाहरूको छनोट गर्न र प्रदेशका गौरवका आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्न पनि उनले आयोगलाई निर्देशन दिएका छन् ।

कोशी प्रदेशको योजना आयोगको आज बसेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए। प्रदेश आयोजना बैंकलाई विषयगत र तहगत रुपमा एकीकृत गरी एकीकृत प्रणालीको विकास र व्यवस्थापन गर्ने, अन्तर प्रदेश योजना आयोग सम्मेलन गर्ने, प्रदेशका गौरव तथा रूपान्तरणकारी योजना तथा आयोजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्ने निर्णय आजको बैठकले गरेको छ।

कोशी प्रदेश तथ्याङ्क ऐन २०८२ को नियमावलीको मस्यौदा तर्जुमा र एकीकृत तथ्याङ्क प्रणालीको विकास गरी प्रदेशमा तथ्याङ्कलाई व्यवस्थित गर्ने निर्णय समेत गरिएको प्रदेश योजना आयोगले जानकारी दिएको छ। त्यस्तै घरपरिवारमा उत्पादन गरिने परम्परागत मदिराको ब्रान्डिङका लागि आवश्यक प्रविधि र कानुनी विषयमा थप अध्ययन गरी अघि बढ्ने र यसलाई न्तिम टुङ्गोमा पुर्‍याउने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।