काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाएको स्थानहद फुकुवा गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।
तत्कालीन गृहमन्त्री लेखकको बयान लिइसकेको आयोगले उनीमाथि काठमाडौं उपत्यका छोड्न नपाउनेगरि लगाएको स्थानहद हटाउने तयारी गरेको हो ।
आयोगले लेखकसँग २ पटक गरेर छुट्टाछुट्टै बयान लिएको थियो । उनीसँग बुधबार साँझ साढे ७ बजेसम्म आयोगले बयान लिएको थियो । त्यसअघि गत पुस १४ गते पनि आयोगले सिंहदरबारमा लेखकसँग बयान गरेको थियो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पनि लेखकको बयान सकिएको जानकारी दिएका छन् । यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव लगायतको बयान लिएसँगै स्थान हद फुकुवा गरिएको थियो ।
जाँचबुझ आयोगका अध्यक्ष कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको जानकारी दिएका छन् । ‘ओलीलाई बोलाउने क्रममा छौं,’ उनले भने ।
आयोगले बोलाउदा ओली उपस्थित नभए के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनको जवाफ थियो, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । अब हामी उहाँलाई चिठि काट्दैछौं ।’
कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।