लोड हुँदैछ...

मेनु

एमाले नेता एवं पूर्वमन्त्री गुप्ता भ्रष्टाचार आरोपमा जेल चलान

एमाले नेता एवं पूर्वमन्त्री गुप्ता भ्रष्टाचार आरोपमा जेल चलान

विराटनगर । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।

बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । बहसपछि अदालतले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश गरेको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो ।आदेशको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा परेका थिए । उनलाई ओलीले लामो समय बचाउ र संरक्षण गरेपनि चौतर्फी दबाबपछि गुप्ताले राजीनामा दिएका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सो मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी छन्।

मन्त्री गुप्तासँगको अडिओ संवादमा बिचौलियाले ‘पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ लाख राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला’ भनेको सुनिएको थियो। दुई पूवमन्त्रीसहित मालपोत कार्यालय कास्की, पोखराको तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायी विचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन,यमकुमारी गुरूङ, तुल्सीराम बुढामगरविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा गरेको थियो।

यो घटनामा अख्तियारले ७८ लाख रुपैयाँ बिगो कायम गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।