लोड हुँदैछ...

मेनु

आश र त्रासबाट मुक्त भएर जोखिम उठाएका हौँ, विचलित नहुनुस् : योगेश भट्टराई

आश र त्रासबाट मुक्त भएर जोखिम उठाएका हौँ, विचलित नहुनुस् : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई कुनै पनि परिस्थितिमा विचलित नभई दृढतापूर्वक अघि बढ्न अपिल गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भट्टराईले आफूहरूले व्यक्तिगत स्वार्थ वा डरभन्दा माथि उठेर पार्टीभित्र वैचारिक संघर्ष सुरु गरेको स्पष्ट पारेका हुन् ।

मुलुकको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै भट्टराईले राष्ट्र, लोकतन्त्र र राजनीतिक दलहरू इतिहासकै चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । ‘यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयम् हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेका छौँ’, उनले लेखेका छन्,‘यो बेला गम्भीर समीक्षा गरी सही निकास दिनु हाम्रो जिम्मेवारी हो, जसका लागि धैर्यता अनिवार्य छ ।’

उपमहासचिव भट्टराईले एमालेको आगामी ११औँ महाधिवेशनका लागि आफूहरूले अघि सारेको ‘पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरण’ को प्रस्तावले चौतर्फी ध्यानाकर्षण गराएको उल्लेख गरे । यो बहसलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत र आम जनसमुदायमा पर्याप्त बहस सिर्जना गरेको छ । यो प्रक्रिया आगामी दिनमा पनि जारी रहनेछ ।’

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र सुधारका लागि गरिएको संघर्ष कुनै दबाब वा प्रलोभनमा परेर नगरिएको उनको दाबी छ । ‘हामीले पार्टीको अन्तरसंघर्षमा आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौँ,’ भट्टराईले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भनेका छन्, ‘म सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नोतर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्छु ।’
आफूले उठाएका मुद्दाहरूले आम जनताको मन जितेको दाबी गर्दै उनले निकट भविष्यमै पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म (पार्टी पङ्क्ति) बाट यी एजेण्डाहरू अनुमोदन हुने विश्वास व्यक्त गरे । एमालेभित्र नेतृत्व परिवर्तन र कार्यशैलीमा सुधारको माग उठिरहेका बेला उपमहासचिव भट्टराईको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds