विराटनगर । विराटनगरमा जारी विराट ट्रेड एक्स्पो अन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई)को समृद्धि र संरक्षणका विषयमा केन्द्रित रहेर विशेष थिमेटिक सेसनु सम्पन्न भएको छ। कार्यक्रमका सहभागीहरूले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका साना तथा मझौला उद्योगलाई जोगाउन नीतिगत सुधार, सहज लगानी र प्रविधिमैत्री वातावरण आवश्यक रहेकोमा जोड दिएका छन्।
“साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा गहन मन्थन भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योग नै रोजगारी सिर्जनाको मुख्य आधार भएको बताए। उनले यस्ता उद्योगको संरक्षण बिना मुलुकको आर्थिक समृद्धि सम्भव नभएको स्पष्ट पारे। ‘बैंकहरूमा तरलता छ, तर ऋण प्रवाह सहज छैन। कर र श्रम नीतिले उद्यमीलाई थप दबाब दिएको छ,’घिमिरेले भने, ‘उत्पादनमुखी अर्थतन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ।’उनले ऊर्जा क्षेत्रमा रहेको ट्रिपिङ र लो–भोल्टेजका कारण उत्पादन लागत बढेको भन्दै कोशी प्रदेशमा रहेका कृषि, ऊर्जा र पर्यटनका सम्भावनालाई नीतिगत संरक्षण दिनुपर्ने बताए ।
त्यस्तै, उदय परियोजनाका ‘रिस्क शेयरिङ लिड’ उत्सव घिमिरेले साना तथा मझौला उद्योगका लागि बैंक बाहेकका वैकल्पिक वित्तीय साधनको अभाव रहेको औंल्याए। उनले स्टार्टअप र नयाँ अवधारणामा आधारित उद्यमलाई धितो (कोलाटरल) बिना नै ऋण सहजीकरण गर्नुपर्ने र सरकारी अनुदान प्रणालीलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
युवा उद्यमी प्रतीक राउतले सन् २०२६ पछि नेपाल विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दा आइपर्ने विश्वव्यापी प्रतिस्पर्धाका लागि नेपाली ब्रान्डिङ र सूचना प्रविधिमा लगानी बढाउनुपर्ने बताए। उनले भने, ‘एसएमईको परिभाषा केवल स्थिर पुँजीका आधारमा मात्र गरिनु हुन्न, यसलाई बदलिँदो परिवेशअनुसार परिमार्जन गर्न आवश्यक छ।
उद्यमी अमित शारडाले गुणस्तरीय उत्पादनले मात्र निर्यात बढाउन सकिने धारणा राखे भने विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले डिजिटल माध्यमको प्रयोगले बजार पहुँच सहज बन्दै गएको र सरकारले पनि सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताए।
घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, नवीकरण र प्रविधि हस्तान्तरणमा प्रदेश सरकारले सहयोग गरिरहेको जानकारी दिए। उनले विशेषगरी महिला उद्यमीलाई राजस्वमा छुट दिने व्यवस्था रहेको बताउँदै नयाँपनसहितका उद्योगमा जोड दिन आग्रह गरे।
छलफलमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक प्रज्वल आचार्यले उद्योगको सुरक्षाका लागि बीमाको अपरिहार्यताका बारेमा प्रस्तुति दिएका थिए। निजी क्षेत्रको व्यापार प्रवर्द्धन र उद्यमशीलता विकासका लागि विराट ट्रेड एक्स्पोले प्रभावकारी मञ्च प्रदान गरेको सहभागीहरूको निष्कर्ष थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।