काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आन्तरिक प्रारम्भिक निर्वाचनका लागि मतदान गर्ने समय सीमा थप गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै प्राविधिक अवरोधका कारण मतदानको समय भोलि (सोमबार) बिहानसम्मका लागि बढाएको जानकारी दिएको हो।
पार्टीका अनुसार आन्तरिक समानुपातिक उम्मेदवार छनोटका लागि सुरु गरिएको मतदान प्रक्रियामा प्राविधिक समस्या देखिएपछि निर्धारित समयमा कार्य सम्पन्न हुन सकेको थिएन। यसअघि पुस १२ गते बिहान ७ः०० बजेदेखि पुस १३ गते बेलुकी ७ः०० बजेसम्मका लागि मतदानको समय तोकिएको थियो।
तर, मतदान प्रक्रिया सुरु गर्न ढिलाइ भएको र बीच–बीचमा पटक–पटक अवरोध सिर्जना भएपछि धेरै सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाएका थिएनन्। सोही कुरालाई मध्यनजर गर्दै पार्टीले मतदानको समय पुस १४ गते बिहान १०ः०० बजेसम्मका लागि थप गरेको निर्वाचन आयोगका उप–प्रमुख राम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
पार्टीले आफ्ना योग्य सदस्यहरूको मताधिकारलाई सम्मान गर्दै सबैलाई मतदान प्रक्रियामा सहभागी हुन समेत आह्वान गरेको छ। यसअघि मतदान गर्न छुटेका सदस्यहरूले अब थपिएको समयभित्र आफ्नो उम्मेदवार छनोट गर्न सक्नेछन्।
यो निर्वाचन रास्वपाले आफ्नो आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र उम्मेदवार चयनमा पारदर्शिता अपनाउन आयोजना गरेको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।