लोड हुँदैछ...

मेनु

इलाम १ बाट झलनाथ खनालको नाम सिफारीस

इलाम १ बाट झलनाथ खनालको नाम सिफारीस

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी इलामले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटीले प्रतिनिधि सभाका दुवै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फका उम्मेदवारहरूको नाम टुङ्गो लगाएर केन्द्रमा पठाएको हो । पूर्वप्रधानमन्त्री एवं पार्टीका नेता झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ समावेश गरिएको छ । खनाललाई निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खस–आर्य क्लस्टरमा पनि उनको नाम पठाइएको छ ।

नेकपा की नेतृ शान्ता बस्नेतका अनुसार नेता खनालले आफू प्रत्यक्षमा नउठ्ने बताउँदै आए तापनि राष्ट्रिय स्तरको नेता र पूर्वप्रधानमन्त्री भएको हुनाले पार्टीले दुवै तर्फ उहाँको नाम सिफारिस गरेको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ खनालसँगै अन्य चार जनाको नाम सिफारिस भएको छ । जसमा प्रदेश सभाका सासद खिनु लङवा लिम्बु, सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको समेत नाम सिफारीस गरीएको छ । यस्तै तेज बहादुर राई ‘विजय’ र विपिन पोख्रेल नाम समेत पठाइएको हो । सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको एकल नाम सिफारीस गर्ने तयारी भएपनि सम्मानका लागि झलनाथको नाम पठाउ भनेपछि अन्य नेताको नाम पठाइएको नेकपाका एक नेताले बताए ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ का लागि ओमबहादुर गुरुङ, शान्ता बस्नेत, छविलाल आचार्य, नयन राई र दीकेन्द्र ढकालको नाम सिफारिस गरिएको छ।

समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट झलनाथ खनाल, हर्क लावती ’कान्छा’, सावित्रा गर्तौला, लालबहादुर सुब्बा र लक्ष्मण घतानीको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभाका लागि भने दलित कोटाबाट चित्रकला बराइली र दीपक सिन्चुरीको नाम सिफारिस भएको छ । त्यस्तै, सावित्रा गर्तौलाको नाम समानुपातिक र राष्ट्रिय सभा दुवैका लागि सिफारिस गरिएको छ । पार्टीले केन्द्रको निर्देशनअनुसार प्रत्येक क्षेत्रबाट ५ जनाको दरले नाम पठाएको र यसमाथि अन्तिम निर्णय केन्द्रले नै गर्ने बस्नेतले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।