विराटनगर । नेकपा एमाले कोशीले आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक उम्मेदवारको लागि ३९ जनाको नाम केन्द्रमा पठाएको छ ।
जिल्लाहरूबाट १०१ जनाको नाम सिफारिस भएर आएकोमा प्रदेश कमिटीले काटछाँट गरेर ३७ जनाको नाम केन्द्रमा पठाएको हो ।
निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसुची बुझाउने समय आइतबार र सोमबार तोकिएको छ । यसरी बुझाएको नाम ७ दिनभित्र संशोधन गर्नसकिने प्राबधान छ । उम्मेदवारहरुको नाम पार्टीको केन्द्रीय समितिले निर्वाचन आयोगमा बुझाउनेछ ।
एमाले प्रदेश कमिटिले सिफारिस गरे नामहरूमा मोरङ जिल्लाको बाहुल्यता देखिएको छ । जिल्लागत सिफारिसमा १०१ जनामा ३१ जना मोरङका थिए । प्रदेश कमिटिले केन्द्रमा पठाएका ३१ जनाको नाम भने पार्टीले गोप्य राखेको छ ।
मोरङबाट पार्टीका पूर्वकेन्द्रीय उपाध्यक्ष गुरुप्रसाद बराल, पूर्वप्रदेश मन्त्री ज्ञानेश्वर राजबंशी, र पूर्वजिल्ला अध्यक्ष बाबुराम कार्कीसहित नेताहरुको नाम सिफारिस भएको थियो । यस्तै, विराटनगरका पूर्वउपमेयर भूराज राई, पालिकाका पूर्वउपप्रमुखहरू लक्ष्मी भण्डारी र धना तामाङसहितको नाम थियो ।
सुनसरीबाट १० जनाको नाम प्रदेशमा पठाइएको थियो । जसमा पूर्वकेन्द्रीय सदस्यहरू तैयब हुसैन र लस्करी अन्सारीका साथै प्रदेश सदस्यहरू मोतिराज सुनवार र मौसम राई लगायत छन्। उदयपुरबाट १५ जनाको सिफारिस भएको छमा केन्द्रीय सदस्य मन्जु चौधरी र पूर्वकेन्द्रीय सदस्य अम्बिका थापा लगायतका नेताहरू छन् ।
झापाबाट केन्द्रीय सदस्यहरू रोमनाथ ओली र मेनुका काफ्ले तथा पूर्व प्रदेश मन्त्री जसमाया गजमेरसहित ७ जनाको नाम सूचीमा छ। इलामबाट पूर्व केन्द्रीय सदस्यहरू सकुन्तला लेप्चा र तारादेवी गुरुङसहित ६ जनाको नाम पठाइएको छ।
धनकुटाबाट पूर्वप्रदेश सांसद बिनादेवी राई र प्रदेश सदस्य यज्ञकुमारी रुचालसहित ७ जना र तेरथुमबाट पार्टीको निर्वाचन आयोग प्रमुख डा.विजय सुब्बा र बिष्णुमाया बि.क.सहित ५ जनाको नाम सिफारिसमा परेको छ ।
प्रदेश कमिटीले जिल्लाबाट आएका १०१ जनाकै नाममा छलफल भए पनि अन्तिममा ३९ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।