लोड हुँदैछ...

मेनु

‘प्रधानमन्त्री’ पाएका बालेनलाई रास्वपा समानुपातिकतर्फ ४० जना, पार्टीमा दोस्रो बरियता

‘प्रधानमन्त्री’ पाएका बालेनलाई रास्वपा समानुपातिकतर्फ ४० जना, पार्टीमा दोस्रो बरियता

विराटनगर । आगामी निर्वाचनपछि बालेन्द्र साह (बालेन)लाई प्रधानमन्त्री र रवि लामिछानेलाई पार्टी सभापति बनाउने सहमति गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा बालेन साहको पक्षबाट ४० जना समेट्ने भएको छ ।

रवि लामिछाने र बालेनबीच आइतबार विहान भएको सहमति पत्रमा प्रधानमन्त्री र पार्टी सभापतिको विषय उल्लेख भएपनि अन्य भागबण्डा उल्लेख छैन । तर, उनीहरुबीच समानुपातिकक सिट मात्र नभएर आगामी संसदपछि मन्त्री र सभामुखसम्म भागबण्डा भएको निकट स्रोतले जनाएको छ ।

निर्वाचन आयोगमा सोमबारसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्नेमा बालेन पक्षका ४० र ७० रास्वपाका उम्मेदवारहरुको नामावली बुझाउने सहमति भएको हो ।

विभिन्न जेनजी समूहका अगुवा पनि बालेनको सूचीमा पर्ने बताइएको छ । सुरुमा रविले ३० प्रतिशत मात्र दिने बताएकोमा अन्तिममा ४० जनामा सहमति भएको हो ।

रास्वपाले समानुपातिक सांसद उम्मेदवार चयन गर्न आन्तरिक भोटिङ चलाइरहेको छ । त्यसमा लोकप्रिय मत पाउनेलाई उम्मेदवार बनाउने रास्वपाले जनाएको छ । बालेनको कोटामा पर्नेहरुको नाम भने उनले सिधै पार्टीमा बुझाउनेछन् ।

यस्तै बालेनलाई सभापति रवि लामिछानेपछिको वरीयता दिने सहमति भएको छ । रास्वपा नेता एवं एकताका लागि गठित कार्यदलका सदस्य शिशिर खनालले सहमति पत्रमा उल्लेख नभएपनि बालेनलाई पार्टीमा दोस्रो वरीयता दिने सहमति रहेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।