काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (आइतबार)बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । ११ औँ महाधिवेशन सम्पन्न भएपश्चात् बस्न लागेको यस बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकमा आगामी निर्वाचनको तयारी र आन्तरिक साङ्गठनिक विषयमा छलफल हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । सोही बन्द सूचीलाई अन्तिम रुप दिन बैठक केन्द्रित हुने बताइएको छ ।
पार्टी स्रोतका अनुसार, देशैभरबाट संकलन गरिएका आकांक्षीहरूको नामावलीलाई अध्ययन गरी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उम्मेदवारहरूको ुसर्टलिस्टु तयार पारिसकेका छन् । आजको सचिवालय बैठकले उक्त सूचीमाथि छलफल गरी उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउनेछ ।
समानुपातिक सूचीका अतिरिक्त बैठकमा नेताहरूको नयाँ कार्य विभाजन लगायतका अन्य आन्तरिक सांगठनिक विषयमा समेत छलफल र आवश्यक निर्णय हुन सक्ने एक नेताले जानकारी दिएका छन् । निर्वाचन आयोगमा आजै वा भोलि सूची बुझाउनुपर्ने संवैधानिक दबाबका कारण एमालेले आजको बैठकबाट उम्मेदवारहरूको नाम फाइनल गर्ने तयारी गरेको हो ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।