लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिकको बन्द सूची बुझाउने समय

प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिकको बन्द सूची बुझाउने समय

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को चुनावी प्रक्रियाले तीव्रता पाएसँगै आज (आइतबार) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेस गर्ने कार्य सुरु भएको छ। निर्वाचन आयोगले यसका लागि सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आज र भोलि दुई दिनको समय तोकेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीमा सहभागी हुन दर्ता भएका १०० वटा राजनीतिक दलले मात्र यो सूची पेस गर्न पाउनेछन्। यी दलहरूले कुल ९३ वटा चुनाव चिह्नमार्फत निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस १३ र १४ गते पेस भएका बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म विस्तृत छानबिन गरिनेछ। छानबिनका क्रममा त्रुटि देखिएमा वा कानुन अनुसार नमिलेको पाइएमा पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सूची सच्याउने वा मिलाउने समय दिइएको छ। त्यसरी मिलाएर ल्याइएको सूचीलाई पुनः पुस २८ देखि माघ ३ गतेसम्म दोस्रो पटक जाँच गरिने प्रवक्ता भट्टराईले जानकारी दिए ।

आयोगको तयारी अनुसार आगामी माघ ४ गते उम्मेदवारहरूको बन्द सूची सार्वजनिक गरिनेछ। विभिन्न चरणको प्रक्रिया र दाबी विरोधको समयपश्चात् माघ २० गते मात्र समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गरिने कार्यतालिका रहेको छ। आयोगले तोकेको यो दुई दिने समयसीमाभित्र सूची पेस नगर्ने दलहरू समानुपातिक निर्वाचन प्रक्रियाबाट बाहिरिने छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।