लोड हुँदैछ...

मेनु

कञ्चनजङ्घा आधार शिविर क्षेत्रका व्यवसायी चिसो र हिमपातले बेंसीतिर

कञ्चनजङ्घा आधार शिविर क्षेत्रका व्यवसायी चिसो र हिमपातले बेंसीतिर

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय मौसम (सिजन) सकिएसँगै र अत्यधिक चिसो बढेसँगै यो क्षेत्रका पर्यटकीय गतिविधि ठप्प भएका हुन् ।

केही समयअघिसम्म आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घाका उत्तरी आधार शिविरहरू खम्बाचेन, लोनाक, पाङ्पेमा तथा दक्षिणी क्षेत्रका चेइराम र रामजेर अहिले मानवविहीन जस्तै बनेका छन् ।

हिमपात र बढ्दो चिसोका कारण पर्यटकको आउजाउ रोकिएपछि स्थानीय होटल व्यवसायीहरू आफ्ना व्यवसाय बन्द गरेर तल्लो बस्तीतिर सरेका छन् । स्थानीय पर्यटन व्यवसायी एवं फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य तेन्जिङ सेराप शेर्पाका अनुसार करिब डेढ साताअघिदेखि नै आधार शिविर क्षेत्रका होटलहरू बन्द भइसकेका छन् । ‘बाक्लो हिउँ पर्न थालेपछि र तापक्रम निकै घटेपछि त्यहाँ बस्न सक्ने अवस्था हुँदैन, त्यसैले व्यवसायीहरू सुरक्षित स्थानमा झरेका हुन्,’ शेर्पाले भने ।

अब यो क्षेत्रमा आगामी चैत महिनादेखि सुरु हुने दोस्रो पर्यटकीय सिजनमा मात्र होटलहरू पुनः सञ्चालनमा आउनेछन् । सामान्यतया कञ्चनजङ्घा क्षेत्रमा असोजदेखि मङ्सिरसम्म र चैतदेखि असार पहिलो सातासम्म गरी दुई चरणमा पर्यटकीय गतिविधि हुने गर्दछ ।

सुनसान समय सुरु भए पनि यस वर्ष कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा भने उत्साहजनक वृद्धि देखिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अनुसार यस वर्षको पहिलो सिजनमा ९५० जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ८७७ जनाले भ्रमण गरेका थिए ।

परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार मङ्सिरपछि पनि केही पर्यटकहरू फाट्टफुट्ट रूपमा आउने क्रम जारी थियो । पछिल्लो समय विदेशी मात्र नभई आन्तरिक पर्यटकको आकर्षण समेत कञ्चनजङ्घा क्षेत्रमा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा कोभिड–१९ का कारण शून्य बनेको कञ्चनजङ्घाको पर्यटन त्यसयता भने निरन्तर सुधारोन्मुख छ । सडक पहुँचको विस्तार र पदमार्गहरू सहज बन्दै गएका कारण पर्यटकको आगमन बढेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) बताउँछन् ।

भौतिक पूर्वाधारमा भएको सुधार र प्रचारप्रसारले गर्दा आगामी दिनमा कञ्चनजङ्घा क्षेत्र अझै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।